धाराखबर समाचारदाता
पोखरा, २० वैशाख । आफ्नै बाबुको हत्या गरी फरार रहेका एक युवालाई कास्की प्रहरीले पक्राउ गरी आइतबार संचारकर्मीमाँझ सार्वजनिक गरेको छ ।
कास्कीको पूर्वी रुपा गाउँपालिका वडा नम्बर ४ बागेडाँडा निवासी ६२ वर्षीय रामबहादुर भुजेलको हत्या गरेको अभियोगमा उनकै कान्छा छोरा ३४ वर्षीय छोरा भीमबहादुर भुजेल पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार अनुसन्धानको क्रममा आफ्नै छोरा भीमबहादुरको संलग्नता देखिएपछि उनलाई वैशाख १८ गते पोखरा– ११ अस्पताल चोकबाट पक्राउ गरिएको हो ।
यसै महिनाको वैशाख १७ गते साँझ ६ः४५ बजे रामबहादुर भुजेल आफ्नै घरमा अचेत अवस्थामा फेला परेका थिए । रामबहादुर भुजेलको घाँटीमा गलबन्दी बेरिएको र नाकबाट रगत बगेको अवस्थामा प्रहरीले फेला पारेपछि घटनास्थलको प्रारम्भिक अनुसन्धान सुरु गरिएको थियो ।
घटनाको अनुसन्धानका क्रममा कोठाको ढोका खुल्लै रहेको र मृतकको घाँटीमा कसिलो गरी गलबन्दी बेरिएको पाइएपछि प्रहरीले कर्तव्य ज्यानको आशंकामा खोजतलास सुरु गरेको थियो । अनुसन्धानको क्रममा उनकौ कान्छो छोरा भीमबहादुरको संलग्नता देखिएको डिएसपी वस्नेतले जानकारी दिनुभयो ।
पक्राउ परेका भीमबहादुर भुजेल विरुद्ध कास्की जिल्ला अदालतमा कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धानका लागि १० दिनको म्याद थप गरिएको प्रहरीले जानकारी दिएको छ ।
