मृगौला पीडित सुरजको उपचारमा १५ लाख सहयोग

प्रदेश समाचार मुख्य समाचार स्वास्थ्य


पोखरा,२६ वैशाख । मृगौला पीडित २३ वर्षीय सुरज गुरुङको उपचारका लागि शनिबार पोखरामा १५ लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ ।

तरेली सांस्कृतिक परिवार पोखरा–१०ले संचालन गरेको सुरज गुरुङ बचाऊ अभियान अन्तरगत विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट सहयोग स्वरुप संकलित उक्त रकम बराबरको चेक परिवारका अध्यक्ष एवं अभियानका संयोजक राजबहादुर गुरुङले सुरजका बुवा आशबहादुर गुरुङलाई हस्तान्तरण गरेका हुन् ।

विभिन्न देशमा रहेका नेपाली समुदाय र नेपालमा रहेका विभिन्न ंसंघसंस्था र व्यक्तिबाट संकलित भएको बताइएको छ । सुरजको उपचारमा सहयोग रकम विभिन्न विदेशी देशहरुमा पनि संकलन भइरहेको जानकारी अभियानका अध्यक्ष राजबहादुर गुरुङले दिए ।

प्रभावशाली नृत्यकार, मोडल एवं कलाकार सुरज गुरुङको तीन हप्तादेखी ललितपुर जिल्लास्थित नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । दुबै मृगौलाले काम नगर्ने भएपछि मृगौला प्रत्यारोपण गर्नुपर्ने हुँदा सुरजको उपचारमा ३० लाख रुपैयाँ आवश्यक पर्ने अस्पतालका चिकित्सकहरुले जानकारी दिएको सुरजकी दिदी मनमाया गुरुङले बताइन् ।

लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका निवासी सुरज पोखराको कालिका उच्च माविबाट दशजोर दुई पास गरी कला क्षेत्रमा सक्रिय थिए । सुरजका बुवा आशबहादुर गुरुङले छोराको उपचारका लागि त्यति धेरै पैसा आफूसँग नभएको बताउँदै कलाकारिता क्षेत्रबाट उपचार सहयोग जुटेकोमा सहयोगी हातहरुप्रति आफू सधै ऋणी रहेको बताए ।

लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले यही वैशाख ३१ गते बंगलादेशमा प्रस्तुत गरिने नेपाली सांस्कृतिक कार्यक्रमबाट संकलित रकम पनि सुजजको उपचारका लागि उपलब्ध गराउने जानकारी दिए । तरेली सांस्कृतिक परिवारले यस अघि पनि विभिन्न रोगबाट पीडितहरुको लागि सहयोग रकम जुटाउँदै आएको थियो । हिमाली सांस्कृतिक परिबार तमु प्येल्हु संघ लगायतका संस्थाले समेत सुरजको उपचारमा सहयोग रकम हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *