पोखरा, २६ वैशाख । गण्डकी स्पोर्टस् क्लबको अध्यक्षमा दीपकराज मुल्मी चयन भएका छन्।
क्लबको शनिबार पोखरामा सम्पन्न दोस्रो अधिवेशन तथा चौथो साधारणसभाले आगामी दुई वर्षे कार्यकालका लागि मुल्मीको नेतृत्वमा सर्वसम्मत् १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको वरिष्ठ उपाध्यक्ष मिलन पुन, प्रथम उपाध्यक्ष इनोज रञ्जित र द्वितीय उपाध्यक्ष द्रव्यजंग राणा छन्।
त्यसैगरी, सचिव चेतनाथ चालिसे, सह–सचिव बिकी गुरुङ, कोषाध्यक्ष विकास बिजुक्छे र सह–कोषाध्यक्ष सुजन गुरुङ (रेयस) छन्।
त्यस्तै, सदस्यहरुमा राजकुमार गुरुङ, अनिरुद्र उदास, गुमबहादुर थापा (ईमान), दमनजंग राणा, नवीन थापामगर, सुबिन गुरुङ, मनोजकुमार गुरुङ, बासु जिसी र राजेश श्रेष्ठ छन्।
प्रमुख अतिथि एन्फा कास्की तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी मोतिमान शाक्यको संयोजकत्वमा गठित निर्वाचन मण्डलद्वारा सर्वसम्मत् नयाँ कार्यसमिति गठन गरेको हो।
नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई शनिबार नै गोपनीयताको शपथ तथा पदभार ग्रहण गराइएको छ।
निर्वाचन मण्डल र क्लबका निवर्तमान अध्यक्ष उमेश सिकेले उनीहरुको पद तथा गोपनीयताको सपथ तथा पदभार ग्रहण गराएका हुन्।
कार्यक्रममा निवर्तमान सह–सचिव चेतनाथ चालिसेले सचिवको प्रतिवेदन र निवर्तमान कोषाध्यक्ष विनोद गुरुङले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरे।
कार्यक्रममा निवर्तमान अध्यक्ष सिके, प्रमुख अतिथि शाक्य र सदस्य बिकी गुरुङले शुभकामना मन्तव्य राखे।
निवर्तमान अध्यक्ष उमेश सिकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान सदस्य अनिरुद्र उदासले स्वागत मन्तव्य र सह–सचिव चेतनाथ चालिसेले कार्यक्रम संचालन गरेका थिए।
वि.सं. २०५५ मा पोखरामा स्थापना भएको क्लबले स्थानीय क्षेत्रमा फुटबल, भलिबल र क्रिकेट खेलहरु संचालन गर्दै आएको छ।
]]>तरेली सांस्कृतिक परिवार पोखरा–१०ले संचालन गरेको सुरज गुरुङ बचाऊ अभियान अन्तरगत विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट सहयोग स्वरुप संकलित उक्त रकम बराबरको चेक परिवारका अध्यक्ष एवं अभियानका संयोजक राजबहादुर गुरुङले सुरजका बुवा आशबहादुर गुरुङलाई हस्तान्तरण गरेका हुन् ।
विभिन्न देशमा रहेका नेपाली समुदाय र नेपालमा रहेका विभिन्न ंसंघसंस्था र व्यक्तिबाट संकलित भएको बताइएको छ । सुरजको उपचारमा सहयोग रकम विभिन्न विदेशी देशहरुमा पनि संकलन भइरहेको जानकारी अभियानका अध्यक्ष राजबहादुर गुरुङले दिए ।
प्रभावशाली नृत्यकार, मोडल एवं कलाकार सुरज गुरुङको तीन हप्तादेखी ललितपुर जिल्लास्थित नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । दुबै मृगौलाले काम नगर्ने भएपछि मृगौला प्रत्यारोपण गर्नुपर्ने हुँदा सुरजको उपचारमा ३० लाख रुपैयाँ आवश्यक पर्ने अस्पतालका चिकित्सकहरुले जानकारी दिएको सुरजकी दिदी मनमाया गुरुङले बताइन् ।
लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका निवासी सुरज पोखराको कालिका उच्च माविबाट दशजोर दुई पास गरी कला क्षेत्रमा सक्रिय थिए । सुरजका बुवा आशबहादुर गुरुङले छोराको उपचारका लागि त्यति धेरै पैसा आफूसँग नभएको बताउँदै कलाकारिता क्षेत्रबाट उपचार सहयोग जुटेकोमा सहयोगी हातहरुप्रति आफू सधै ऋणी रहेको बताए ।
लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले यही वैशाख ३१ गते बंगलादेशमा प्रस्तुत गरिने नेपाली सांस्कृतिक कार्यक्रमबाट संकलित रकम पनि सुजजको उपचारका लागि उपलब्ध गराउने जानकारी दिए । तरेली सांस्कृतिक परिवारले यस अघि पनि विभिन्न रोगबाट पीडितहरुको लागि सहयोग रकम जुटाउँदै आएको थियो । हिमाली सांस्कृतिक परिबार तमु प्येल्हु संघ लगायतका संस्थाले समेत सुरजको उपचारमा सहयोग रकम हस्तान्तरण गरेका थिए ।
]]>पोखरा, २० वैशाख । आफ्नै बाबुको हत्या गरी फरार रहेका एक युवालाई कास्की प्रहरीले पक्राउ गरी आइतबार संचारकर्मीमाँझ सार्वजनिक गरेको छ ।
कास्कीको पूर्वी रुपा गाउँपालिका वडा नम्बर ४ बागेडाँडा निवासी ६२ वर्षीय रामबहादुर भुजेलको हत्या गरेको अभियोगमा उनकै कान्छा छोरा ३४ वर्षीय छोरा भीमबहादुर भुजेल पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार अनुसन्धानको क्रममा आफ्नै छोरा भीमबहादुरको संलग्नता देखिएपछि उनलाई वैशाख १८ गते पोखरा– ११ अस्पताल चोकबाट पक्राउ गरिएको हो ।
यसै महिनाको वैशाख १७ गते साँझ ६ः४५ बजे रामबहादुर भुजेल आफ्नै घरमा अचेत अवस्थामा फेला परेका थिए । रामबहादुर भुजेलको घाँटीमा गलबन्दी बेरिएको र नाकबाट रगत बगेको अवस्थामा प्रहरीले फेला पारेपछि घटनास्थलको प्रारम्भिक अनुसन्धान सुरु गरिएको थियो ।
घटनाको अनुसन्धानका क्रममा कोठाको ढोका खुल्लै रहेको र मृतकको घाँटीमा कसिलो गरी गलबन्दी बेरिएको पाइएपछि प्रहरीले कर्तव्य ज्यानको आशंकामा खोजतलास सुरु गरेको थियो । अनुसन्धानको क्रममा उनकौ कान्छो छोरा भीमबहादुरको संलग्नता देखिएको डिएसपी वस्नेतले जानकारी दिनुभयो ।
पक्राउ परेका भीमबहादुर भुजेल विरुद्ध कास्की जिल्ला अदालतमा कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धानका लागि १० दिनको म्याद थप गरिएको प्रहरीले जानकारी दिएको छ ।
]]>बन्दीपुर(तनहुँ), १८ वैशाख । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारी सृजना गर्ने उद्देश्यले तनहँको पर्यटकीय गाउँ बन्दीपुरमा पहिलो पटक प्रदेशस्तरीय “गाउँ पर्यटन मेला २०८३” आयोजना गरिएको छ ।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना एवं गाउँ पर्यटन पवद्र्धन मञ्च नेपाल गण्डकीको सह–आयोजनामा शुक्रबारदेखि दुई दिने मेला संचालनमा ल्याइएको हो । बन्दीपुर गाउँपालिकाले “बन्दीपुर गाउँ पर्यटन भ्रमण वर्ष” घोषणा गरेको सन्दर्भ पारेर पर्यटन मेला गरिएको हो ।
मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री योशोदा रिमालले गण्डकी प्रदेश देशकै सुन्दर एवं कला संस्कृतिमा धनी भएकाले पर्यटनबाट नै समृद्धि तर्फ अगाडि वढ्नु पर्नेमा जोड दिइन् ।
पर्यटकीय रुपमा अत्यन्तै सुन्दर पहाडकी रानीको रुपमा प्रसिद्ध बन्दीपुरको पर्यटन प्रवद्र्धनमा गण्डकी प्रदेश सरकारको सहयोग सँधै रहने बताउँदै उनले होमस्टेलाई प्रवद्र्धन गर्ने उद्देश्यले आर्थिक सरकारले दिँदै आएको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता उनको थियो ।
नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले गाउँपर्यटनलाई प्राथामिकता राखेर बोर्डले काम गरेको बताए । मार्टको मुख्य उद्देश्य गाउँका साना पर्यटन व्यवसायी र समुदायिक हेमस्टेलाई सिधै शहरी बजार र ठूला एजेन्सीहरुसँग जोडने प्लेटफर्मको रुपमा विकास गर्ने, होमस्टे र त्यहाँबाट दिने सेवालाई बजारसँग जोड्ने, गाउँ पर्यटनमा निजी तथा सरकारी लगानीलाई अभिवृद्धि गर्ने रहेको उनले बताए ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष्य सुरेन्द्र बहादुर थापाले सुन्दर गाउँ बन्दीपुरले पर्यटन उद्योगबाट आर्थिक समृद्धि गर्न सक्ने भएकाले गाउँपालिकाले यस क्षेत्रमा पर्यटन विकासका लागि आफ्ना गतिविधि अगाडि वढाउने गरेको बताए । यस क्षेत्रमा होटल तथा होमस्टेको विकास गर्दै स्वरोजगार सृजना गरी आर्थिक समृद्धिको बाटो खोज्न जरुरी भएको बताए ।
सो अवसरमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगर, पर्यटन बोर्ड, गण्डकी कार्यालयका प्रमुख मणिराज लामिछानेले, पर्यटन व्यवसायी गोपीबहादुर भट्टराई प्रकाश गुरुङ रवीन्द्र पौडेल, डिपी अधिकारी, लगायतले आफ्ना भनाई राखेका थिए ।
उक्त मेलामा बन्दीपुरको पर्यटन हिजो, आज र भोलिका बारेमा सामुहिक छलफल, गाउँ पर्यटनबाट समृद्धिको यात्रा, विभिन्न जातजातिको संस्कृतिक प्रस्तुति एवं प्रवद्र्धन, सामुदायिक घरवास तथा पर्यटन व्यवसायीका स्टलहरु स्थापना, सूचना तथा प्रचार सामग्री वितरण गरिएको थियो ।
गाउँका धेरै नयाँ गन्तव्यहरु उचित प्रवद्र्धनको अभावमा ओझेल परिरहेको अवस्थामा यस मेलाले सहयोगी भूमिका खेलेको कुरा कार्यक्रममा गरिएको थियो । गाउँपर्यटन प्रवद्धन मञ्च गण्डकीका अध्यक्ष शोभा सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गण्डकी प्रदेशका २९ वटा होमस्टे सहभागिता जनाउँदै आफ्ना उत्पादनहरु बिक्रीवितरण र प्रचारप्रसार गरेका थिए ।
पर्यटन व्यवसायी नीति निर्माताहरु, स्थानीय तहका प्रतिनिधि, विभिन्न संघसंस्था, संचारकर्मी, स्वदेशी तथा विदेशी पर्यटक र विश्व विद्यालयका विद्यार्थीहरु मेला स्थलमा पुगेका थिए ।
उक्त कार्यक्रममा सहकार्यका भूमिकामा बन्दीपुर क्षेत्रीय होटल बन्दीपुर इकाई, पोखरा पर्यटन परिषद्, होमस्टे महासंघ नेपाल, गण्डकी, रेष्टुरेण्ट एण्ड बार एशोसियसन तनहुँ रहेका छन् । बन्दीपुरको पर्यटन क्षेत्रमा ६ सय करोड भन्दा वढीको लगानी रहेको र भ्रमण वर्ष २०२५ मा बन्दीपुरमा स्वदेशी तथा विदेशी गरी ६ लाख २५ लाख पर्यटक पुग्ने गरेको तथ्याङ्क समेतसो अवसरमा वताइएको थियो ।
यस वर्ष ग्रामीण पर्यटन बन्दीपुर भ्रमण वर्ष २०२६ मा ७ लाख पर्यटक भित्राउने लक्ष्य रहेको र बन्दीपुर क्षेत्रमा मात्र ७ वटा व्यवसायिक होमस्टे रहेका छन् ।
]]>पोखरा, १४ वैशाख । स्थानीय तहका जनप्रतिनिधिसंग बिमा तथा पञ्जिकरण सम्बन्धी अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ।
बिमा प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयको आयोजनामा सोमबार उक्त अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले कार्यक्रमको शुभारम्भ गर्दै बिमाका बारेमा जनप्रतिनिधि मार्फत आम कृषकमा बिमा सचेतना फैलाउन अभिमूखीकरण फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
आम सर्वसाधारणमा बिमा दाबी भुक्तानीमा जटिलता देखिएपछि उक्त प्रक्रिया सरलिकृत बनाउनेतर्फ सरकारी निकाय र बिमा प्राधिकरणले विशेष ध्यान दिनुपर्ने र सेवा प्रबाह थप प्रभाबकारी र व्यबस्थित बनाउनुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल बिमा प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख शम्भु प्रसाद मिश्रले नेपालमा कृषि बिमाको ब्यबस्था , सो सम्बन्धी विद्यमान ऐन कानुनहरू ,अनुदान सम्वन्धी ब्यबस्था ,बिमा शुल्क ,दाबी तथा भुक्तानी सम्बन्धी व्यवस्थाका बारेमा प्रकाश पार्नुभएको थियो ।
त्यसैगरी कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले नागरिकता, राहादानी लगायत पञ्जिकरणका समस्या र समाधान बिषयमा सहजीकरण गर्नुभएको थियो।रूपा गाउँपालिका वडा न २ का वडाध्यक्ष राजन सुबेदी,माछापुच्छ्रे गाउँ पालिकाका प्रमुख कार्यकारी अधिकृत केशब सुबेदी लगायतले प्रस्तुत कार्यपत्र उपर टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा कास्की स्थित विभिन्न पालिकाका जनप्रतिनिधिहरू, बिमा सेवा प्रदायक कम्पनीका प्रमुख तथा प्रतिनिधि र सरोकारवालाहरूको उपस्थिति रहेको थियो।नेपाल बिमा प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख शम्भु प्रसाद मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रमको संयोजन जिल्ला समन्वय समिति कास्कीले गरेको थियो।
कार्यक्रमको संचालन जिल्ला समन्वय अधिकारी नवराज बराल र स्वागत नेपाल बिमा प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका सहायक निर्देशक कबिता पाण्डेले गर्नुभएको थियो
]]>पोखरा, १२ वैशाख । पोखरा सांस्कृतिक एवं साहित्यिक गतिविधिलाई थप सशक्त बनाउने उद्देश्यसहित दोस्रो साहित्य पर्व–२०८३ संचालन गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं. १३ को आयोजनामा शनिबार साहित्य पर्व भएको हो । उक्त कार्यक्रमको लेखक तथा पत्रकार नारायण वाग्लेले शुभारम्भ गरेका हुन् । यस साहित्य पर्वलाई स्थानीयस्तरमै सिर्जनात्मक अभिव्यक्ति र बौद्धिक छलफलको साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।
कार्यक्रममा लेखक तथा पत्रकार वाग्लेले आफ्नो लेखन क्षेत्रको प्रेरणाको स्रोत पुस्तकाल रहेको बताए । उनले पुस्तका पुग्दा आफ्नै घर पुगे जस्तो अनुभूति हुने सुनाए । ‘लेखक हुन मलाई हुटहुटी बढाएको त्यो पुस्तकालय नै हो, मेरो साहित्यको जन्मस्थान नै पुस्तकालय हो,’ उनले भने, ‘जब पुस्तकहरूको वरिपरी मैले पढ्न थालेँ, तब मेरो युवाकालमै मलाई लेखक भन्ने हुटहुटी भयो । त्यसकारण म जहिले पनि पुस्तकालय भन्ने बित्तिकै रोमाञ्चित हुनु, आफ्नो घर आएको जस्तो फिलिङ हुनु, त्यो सबैभन्दा ठूलो परिवेश हो ।’
साहित्यमा सिर्जना गर्न स्वतन्त्र रुपमा लाग्नुपर्नेमा उनको जोड थियो । स्वतन्त्र हुनको लागि आफ्नो संघर्ष आफैले गर्नुपर्ने उनले सुनाए । ‘सिर्जना हुन शब्दै चाहिन्छ भन्ने पनि होइन । सिर्जनाशील हुनलाई म स्वतन्त्र हुनुपर्यो । त्यसकारण म स्वतन्त्र हुनको लागि मेरो आफ्नो संघर्ष मैले आफैँ गर्नुपर्छ ।’
कार्यक्रममा अग्रज कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ ले यस प्रकारका कार्यक्रमले साहित्यमार्फत् समाजमा सकारात्मक परिवर्तन ल्याउने, सिर्जनशीलता अभिवृद्धि गर्ने र स्थानीय प्रतिभालाई पहिचान तथा प्रोत्साहन गर्ने बताए । अलि मियाँ जन्मथलो मियाँपाटनमा भएको साहित्यिक कार्यक्रमले साहित्य, कला र सांस्कृतिक विविधता प्रस्तुत गरेको उनको भनाइ थियो ।
कार्यक्रमको पहिलो सत्रमा ‘बितेका पाइला र आउने बाटा : पोखराका युगपुरुषहरुको पदचापमा’ शीर्षकमा पत्रकार शोभाकान्त सिग्देलले पत्रकार पुण्य पौडेलसँग भलाकुसारी गरेका थिए । जहाँ पोखरा १३ लोककवि अलिमियाँ, स्व. जगन्नाथ सिग्देल, स्व. टेकबहादुर ढेवाजुको योगदानको चर्चा भएको थियो । भने, अब आउने युवाले दिनसक्ने योगदानका बारेमा चर्चा गरिएको थियो ।
दोस्रो सेसनमा ‘अक्षरदेखि अल्गोरिदमसम्म : हाम्रो अबको शिक्षा र बदलिदो समाजको स्वरुप’ विषयमा भौतिकशास्त्री डा. कपिल अधिकारीसँग डा. रामचन्द्र बराल गफिएका थिए । उक्त सेसनमा डा. अधिकारीले सामाजिक सञ्जालको एल्गोरिदमले मानिसको आनीबानीलाई जिन्सी सामान जस्तो बनाइदिएको बताए । उनले सामाजिक सञ्जालले मानिसले गर्ने दैनिकीलाई डाटामा परिवर्तन गरेर त्यसलाई सित्तैमा लिएर एल्गोरिदमले काम गरिरहेको उनले सुनाए ।
अर्को सत्रमा पत्रकार अनिशा श्रेष्ठले व्यावसायी नारायण पौडेल र समेसराज भण्डारीसँग उद्यमी र नवउद्यमीका विषयमा कुराकानी गरिन् । यो सत्रमा नेपालमै रोजगारीको संभावनाको खोजीका विषय उठान भएका थिए । जसका लागि सरकारले सही नीति बनाउनुपर्नेमा जोड दिइएको थियो ।
चौथो सत्रमा मा ‘साहित्यमा नारीको प्रतिनिधित्व’ शीर्षकको सेसनमा सहजकर्ता हसिना बस्नेतसँग साहित्यकार सरस्वती प्रतिक्षाले भलाकुसारी गरेकी थिइन् । साहित्य क्षेत्रमा महिलाको उपस्थितीसँगै चर्चा र चुनौतीका विषयमा छलफल गरिएको थियो ।
साहित्य पर्वको अन्तिम सत्रमा पत्रकार अमृत सुवेदी र गायक विनोद श्रेष्ठले संगिताका विषयमा कुरा गरेका थिए । कन्दरा ब्यान्ड र पोखराको संगीतका बारेमा गफिएपछि कार्यक्रम सकिएको कार्यक्रम संयोजक संयोजक राजेन्द्र भण्डारीले जानकारी दिए । वडाध्यक्ष किरण बरालले विकास निर्माण र वडावासीको गुनासो सम्बोधनबाट थोरै समय बचाएर दोस्रोपटक साहित्य पर्व गरिएको बताए । यसलाई समयानुसार परिमार्जन गर्दै लगिने प्रतिबद्धता उनले जनाए ।
कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै वडा सदस्य रजनी परियारले वडाले भाषा, साहित्य, कलालाई पनि विकासको एउटा माटो मान्दै साहित्यको कार्यक्रम आयोजना गरिएको बताइन् । आगामी दिनमा यो खालको कार्यक्रमलाई अझै व्यवस्थित बनाउँदै लैजाने उनको भनाइ थियो ।
कार्यक्रममा साहित्यकारहरु सरस्वती श्रेष्ठ ‘सरु’ धर्मराज अल्पायु, चन्द्रावती वाग्ले, कुशल गौतमले रचना वाचन गरिएका थिए । गायिका हरिदेवी कोइरालाले अलिमियाले संकलन गरेको ‘आकाशमा बादलु डम्मै छ’ बोलको गीत प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा कलाकार जित गुरुङ र कृपा श्रेष्ठको चित्र प्रदर्शनी गरिएको थियो । यस्तै भद्रकाली माविका विद्यार्थी र नवदुर्गा टोल विकास संस्थाको आमा समूहले नृत्य पनि प्रस्तुत गरेका थिए ।
पोखरा, ११ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल पोखरा आएका छन् । उनलाई समर्थकहरुले शुक्रबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका थिए ।
उनी पोखरामा दुई हप्ता बस्ने र विभिन्न व्यक्तित्वहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । लोकतन्त्र दिवसको अवसर पारेर पोखरा भ्रमण सुरु गरेका शाह पोखराको लेकसाइडमा नवनिर्मित सोल्टी होटलमा बसेका छन् ।
्उनलाई समर्थकहरुले विमानस्थलमा भेला भएर स्वागत गरेका छन् । शाहको स्वागतका लागि उनका समर्थकहरू बाजागाजासहित उपस्थित भएका थिए । ‘राजा आउ, देश बचाउ’ भन्दै गणतन्त्र विरूद्ध नारा समेत उनीहरुले लगाएका थिए ।
ज्ञानेन्द्र शाह पोखरामा कम्तिमा २ हप्ता बस्ने योजनाका साथ आएको सुरक्षा स्रोतले जनाएको छ । पोखरा बसाइँको क्रममा उनले विभिन्न स्थान अवलोकन गर्ने र भेटघाट समेत गर्ने कार्यक्रम छ ।
ज्ञानेन्द्र शाहको पोखरा भ्रमण व्यवस्थापन समितिका सदस्य अर्जुन खनालले पूर्वराजाको यसपटकको भ्रमण अर्थपूर्ण रहेको बताए ।२०८१ माघ २७ गते पोखरा भ्रमणमा आएका ज्ञानेन्द्र २ साता बसेर फर्किँदा राजावादीहरुले काठमाडौं विमानस्थलमा शक्ति प्रदर्शन गर्दै स्वागत गरेका थिए ।
]]>पोखरा,९ वैशाख । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न १६ ग्रामीण स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु गरेको छ । जुम्लाको सिँजा गाउँपालिकामा यही वैशाख ९ गते बुधबारदेखि सुरु भएको तालिम चालु आर्थिक वर्षभित्र थप १५ स्थानमा सञ्चालन गरिने बैंकले जनाएको छ ।
बैंकले कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका स्थानीय तहसँगको सहकार्यमा तालिम सञ्चालन गर्न लागेको हो । कृषिमा आधारित व्यवसाय सञ्चालन गरिरहेका र गर्न चाहने करिब पाँच सय व्यक्तिलाई लक्षित गरी तालिम सञ्चालन गर्न लागिएको बैंकको भनाइ छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले तालिममा सहभागीलाई बचत, बजेट निर्माण, ऋण व्यवस्थापन, बीमा, लगानीका विकल्पलगायतका विषयमा प्रयोगात्मक ज्ञान प्रदान गरिने बताए । “सहभागीहरुलाई वित्तीय साक्षरतामा सशक्त बनाउने, बेरोजगारी घटाउने, नयाँ व्यवसाय गर्न प्रोत्साहन गर्ने तथा उद्यमशीलता विकासमार्फत दिगो आर्थिक वृद्धि प्रवद्र्धन गर्न तालिम सञ्चालन गर्न लागिएको हो”, उनले बताए ।
बैंकले दिगो बैंकिङको अवधारणालाई आत्मसात गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ग्रामीण क्षेत्रमा रहेका व्यक्तिलाई आत्मनिर्भर बनाउन प्रोत्साहन गर्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागेको हो । तालिममा ग्रामीण भेगका किसानहरुको रुचि पहिचान गरी सोहीअनुरुप उनीहरुलाई आत्मनिर्भर बनाउन आवश्यक जानकारी र सिप उपलब्ध गराइनेछ ।
सहभागी हुनेले बाख्रापालन, बंगुरपालन, भैंसीपालन, च्याउ खेती, तरकारी खेती लगायतका विषयमा प्राविधिक ज्ञानका साथै व्यावसायिक अवसर पहिचान गर्ने, बजारीकरण तथा वित्तीय व्यवस्थापन लगायतका विषयमा ज्ञान र सिप प्राप्त गर्नेछन् ।
कार्यक्रमले दिगो बैंकिङको अवधारणालाई समेत अघि बढाउँदै वातावरणमैत्री, सामाजिक रूपमा जिम्मेवार तथा दीर्घकालीन आर्थिक लाभ दिने लगानीलाई प्राथमिकतामा राखेको जनाइएको छ ।
नबिल बैंक लिमिटेड नेपालको अग्रणी वाणिज्य बैंक हो। नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक काम गर्दै आएको छ । नबिल एसएसईमार्फत बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजनामार्फत दिगो विकासमा योगदान पुर्याउन आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ ।
]]>