धाराखबर समाचारदाता
पोखरा, १४ फागुन । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो वाचापत्र सार्वजनिक गरेका छन्। वाचापत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, उद्योग–रोजगार, भूमि अधिकार, सुशासन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ।
वाचापत्रअनुसार विद्यालय शिक्षा ऐनमार्फत सबैको हित सुनिश्चित गर्ने, प्रत्येक वडामा पुस्तकालय स्थापना गर्ने तथा प्रत्येक पालिका वा १० हजार विद्यार्थीलाई पायक पर्ने गरी नमुना विद्यालय विकास गर्ने प्रतिबद्धता जनाइएको छ।
स्वास्थ्यतर्फ आधारभूत स्वास्थ्य सेवा सबै स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध गराउने, स्वास्थ्य बीमामा सबैको आबद्धता सुनिश्चित गर्ने तथा ‘स्वस्थ नेपाल’ अभियानलाई प्रवद्र्धन गर्ने उल्लेख छ।
पर्यटन क्षेत्रलाई उद्योगसरह सुविधा उपलब्ध गराउने, पदमार्ग संरक्षण ऐन जारी गर्ने तथा कास्कीका प्रमुख ताल र पर्यटकीय गन्तव्यलाई जोड्ने “इको–टुरिज्म सर्किट” विकास गर्ने योजना वाचापत्रमा समेटिएको छ।
‘अबको किसान को?’ कार्यक्रम लागू गर्दै अर्गानिक, बायो–डायनामिक र पर्माकल्चर कृषिको प्रवद्र्धन गर्ने, बिचौलिया रहित किसान बजार स्थापना गर्ने योजना अघि सारिएको छ।
त्यसैगरी नयाँ उद्योग दर्ता तथा खारेजीमा एकद्वार प्रणाली लागू गर्ने, स्टार्टअप तथा साना उद्योगलाई वित्तीय सहुलियत र मार्गदर्शन उपलब्ध गराउने तथा रोजगारी पोर्टल र श्रम बैंक स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ।
भूमिस्वामित्वलाई नागरिकको आधारभूत अधिकारका रूपमा स्थापित गर्ने, भूमिहीन दलित र सुकुम्बासीको भूमि अधिकार सुनिश्चित गर्ने तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने योजना वाचापत्रमा उल्लेख गरिएको छ।
सुशासनका लागि सरकारी सेवाको पूर्ण डिजिटाइजेशन, प्रत्येक ६ महिनामा वडा–स्तरीय जनभेला र बजेटको एक हिस्सामा नागरिक सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ।
