ऋषिराम बराल
बन्दीपुर(तनहुँ), १८ वैशाख । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारी सृजना गर्ने उद्देश्यले तनहँको पर्यटकीय गाउँ बन्दीपुरमा पहिलो पटक प्रदेशस्तरीय “गाउँ पर्यटन मेला २०८३” आयोजना गरिएको छ ।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना एवं गाउँ पर्यटन पवद्र्धन मञ्च नेपाल गण्डकीको सह–आयोजनामा शुक्रबारदेखि दुई दिने मेला संचालनमा ल्याइएको हो । बन्दीपुर गाउँपालिकाले “बन्दीपुर गाउँ पर्यटन भ्रमण वर्ष” घोषणा गरेको सन्दर्भ पारेर पर्यटन मेला गरिएको हो ।
मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री योशोदा रिमालले गण्डकी प्रदेश देशकै सुन्दर एवं कला संस्कृतिमा धनी भएकाले पर्यटनबाट नै समृद्धि तर्फ अगाडि वढ्नु पर्नेमा जोड दिइन् ।
पर्यटकीय रुपमा अत्यन्तै सुन्दर पहाडकी रानीको रुपमा प्रसिद्ध बन्दीपुरको पर्यटन प्रवद्र्धनमा गण्डकी प्रदेश सरकारको सहयोग सँधै रहने बताउँदै उनले होमस्टेलाई प्रवद्र्धन गर्ने उद्देश्यले आर्थिक सरकारले दिँदै आएको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता उनको थियो ।
नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले गाउँपर्यटनलाई प्राथामिकता राखेर बोर्डले काम गरेको बताए । मार्टको मुख्य उद्देश्य गाउँका साना पर्यटन व्यवसायी र समुदायिक हेमस्टेलाई सिधै शहरी बजार र ठूला एजेन्सीहरुसँग जोडने प्लेटफर्मको रुपमा विकास गर्ने, होमस्टे र त्यहाँबाट दिने सेवालाई बजारसँग जोड्ने, गाउँ पर्यटनमा निजी तथा सरकारी लगानीलाई अभिवृद्धि गर्ने रहेको उनले बताए ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष्य सुरेन्द्र बहादुर थापाले सुन्दर गाउँ बन्दीपुरले पर्यटन उद्योगबाट आर्थिक समृद्धि गर्न सक्ने भएकाले गाउँपालिकाले यस क्षेत्रमा पर्यटन विकासका लागि आफ्ना गतिविधि अगाडि वढाउने गरेको बताए । यस क्षेत्रमा होटल तथा होमस्टेको विकास गर्दै स्वरोजगार सृजना गरी आर्थिक समृद्धिको बाटो खोज्न जरुरी भएको बताए ।
सो अवसरमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगर, पर्यटन बोर्ड, गण्डकी कार्यालयका प्रमुख मणिराज लामिछानेले, पर्यटन व्यवसायी गोपीबहादुर भट्टराई प्रकाश गुरुङ रवीन्द्र पौडेल, डिपी अधिकारी, लगायतले आफ्ना भनाई राखेका थिए ।
उक्त मेलामा बन्दीपुरको पर्यटन हिजो, आज र भोलिका बारेमा सामुहिक छलफल, गाउँ पर्यटनबाट समृद्धिको यात्रा, विभिन्न जातजातिको संस्कृतिक प्रस्तुति एवं प्रवद्र्धन, सामुदायिक घरवास तथा पर्यटन व्यवसायीका स्टलहरु स्थापना, सूचना तथा प्रचार सामग्री वितरण गरिएको थियो ।
गाउँका धेरै नयाँ गन्तव्यहरु उचित प्रवद्र्धनको अभावमा ओझेल परिरहेको अवस्थामा यस मेलाले सहयोगी भूमिका खेलेको कुरा कार्यक्रममा गरिएको थियो । गाउँपर्यटन प्रवद्धन मञ्च गण्डकीका अध्यक्ष शोभा सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गण्डकी प्रदेशका २९ वटा होमस्टे सहभागिता जनाउँदै आफ्ना उत्पादनहरु बिक्रीवितरण र प्रचारप्रसार गरेका थिए ।
पर्यटन व्यवसायी नीति निर्माताहरु, स्थानीय तहका प्रतिनिधि, विभिन्न संघसंस्था, संचारकर्मी, स्वदेशी तथा विदेशी पर्यटक र विश्व विद्यालयका विद्यार्थीहरु मेला स्थलमा पुगेका थिए ।
उक्त कार्यक्रममा सहकार्यका भूमिकामा बन्दीपुर क्षेत्रीय होटल बन्दीपुर इकाई, पोखरा पर्यटन परिषद्, होमस्टे महासंघ नेपाल, गण्डकी, रेष्टुरेण्ट एण्ड बार एशोसियसन तनहुँ रहेका छन् । बन्दीपुरको पर्यटन क्षेत्रमा ६ सय करोड भन्दा वढीको लगानी रहेको र भ्रमण वर्ष २०२५ मा बन्दीपुरमा स्वदेशी तथा विदेशी गरी ६ लाख २५ लाख पर्यटक पुग्ने गरेको तथ्याङ्क समेतसो अवसरमा वताइएको थियो ।
यस वर्ष ग्रामीण पर्यटन बन्दीपुर भ्रमण वर्ष २०२६ मा ७ लाख पर्यटक भित्राउने लक्ष्य रहेको र बन्दीपुर क्षेत्रमा मात्र ७ वटा व्यवसायिक होमस्टे रहेका छन् ।
