धाराखबर समाचारदाता
पोखरा, २७ चैत । नेपाली काँग्रेस सहित पुराना ठूला दलहरुले संघीय निर्वाचनमा देशैभरि नसोचेको पराजय भोग्नुपरेपछि त्यसको समीक्षा गर्ने तर्फ ठूला दल यतिबेला ब्यस्त देखिन्छन् । निर्वाचन समीक्षाको अभियानलाई काँग्रेसले देशका सातै प्रदेश संचालन गर्ने छ ।
त्यसै क्रममा नेपाली काँग्रेस गण्डकीले आज शुक्रबार केन्द्रीय सभापति गगन थापासहितका पदाधिकारी उपस्थितिमा पोखरामा निर्वाचन समीक्षा र काँग्रेसको अबको बाटो विषयक कार्यक्रम सम्पन्न गरेको छ । समीक्षा कार्यक्रममा गण्डकी प्रदेशका अधिकांश सभापति र उम्मेदवारहरुले निर्वाचन हार्नुको कारण काँग्रेस भित्रको आन्तरिक कारणलाई मुख्य विषय बनाएका थिए ।
नेपाली काँग्रेस तनहुँका सभापति जीतप्रसाद आलले नेपाली काँग्रेस मतदाता बढाउने भन्दा पनि नेता वढाउने कार्यमा लागेकै कारण निर्वाचनमा यस्ता नतिजा आएको बताए । उनी मात्र हैन लमजुङ्का सभापति डा. टकराज गुरुङले पनि काँग्रेसले पराजय भोग्नुको कारण पार्टी नेतृत्वले जेन्जी समुहका मागलाई सम्बोधन गर्न नसक्दा रहेको बताए ।
स्याङ्जा क्षेत्र नं २ का उम्मेदवार भागवतप्रसाद मल्लले जेन्जी समुह, विदेशमा रहेका युवा समेटन नसक्दा, सुशासनमा ध्यान नदिँदा र माथिल्लो तहका कार्यकर्ताले तल्लो तहका कार्यकर्तालाई वेवास्ता गर्दा काँग्रेसले देशैभरि पराजय भोग्नु परेको सुनाए ।
कास्की क्षेत्र नं २ का उम्मेदवार मधवप्रसाद बास्तोलाले काँग्रेसले काँग्रेसलाई नै भोट नदिएका कारण पराजयको अवस्था सृजना भएको बताए । बास्तोला जस्तै गण्डकीका अधिकांश उम्मेदवारले पनि काँग्रेसकै नेता तथा कार्यकर्ताको अन्तरघातका कारण चुनावी परिणम खराव आएको बताएका छन् ।
समीक्षा बैठकलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेपाली काँग्रेस पार्टीमा एकता र अनुशासनको खाँचो परेको औल्याए । नेपाली काँग्रेसले अव काम गर्ने तौलतरिका बदल्न जरुरी छ, पुरानै किसिमले पार्टीलाई अगाडि लैजान नसकिने बताउँदै उनले हरेक कार्यकर्ताले आफ्नो समीक्षा आफै गरी आफ्ना कार्यशैली बदल्न जरुरी भएको बताए ।
पुराना राजनीतिक पार्टीहरु अप्ठेरोमा परेको बेला नेपाली काँग्रेस पार्टीलाई कसरी अगाडि वढाउने भन्ने बारेको चिन्तनको प्रक्रियामा केन्द्रीय समिति रहेको बताउँदै सभापति थापाले यो समस्या नेपालमा मात्र नभएर बिदेशमा पनि हुने गरेको सुनाए । संसारभरि पपुलिजम र नयाँ मिडियाका कारण पुराना राजनीतिक पार्टी अप्ठेरोमा परेको बताउँदै उनले सबैतिर राजनीतिक र आर्थिक उदारबाद आवश्यक देखिएको उल्लेख गरे ।
काँग्रेस यतिबेला जेन्जीदेखि वृद्धसम्मका कुरा सुन्ने र पार्टीलाई कसरी अगाडि वढाउन सकिन्छ भन्ने अभियानमा रहेको सुनाउँदै सभापति थापाले काँग्रेसलाई कसरी जनतामाझ लोकप्रिय बनाउने भन्ने तर्फ सबै एक जुट भएर लाग्नु आग्रह गरे ।
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट काँग्रेसको नयाँ नेतृत्व चयन भएकै कारण विधि मिच्यो भनेर अदालतमा जानुको कुनै औचित्य नहुने बताए । अव एक ढिक्का भएर पार्टीलाई कसरी अगाडि वढाउने भन्ने बारेमा चिन्तन गर्न नेताहरु लाग्नुपर्नेमा जोड दिँदै उनले सभापति गगनकुमार थापाको नेतृत्वलाई अगाडि वढाउँदै काग्रेसले आफ्नो कार्ययोजनालाई तीव्र पार्नुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वाचनको परिणमलाई समीक्षा गर्दै सच्चिएर जान मौका मिलेको बताउँदै पार्टीभित्र सुधार गर्नुपर्ने विषय खोज्नु पर्नेमा जोड दिए । नेपाली काँग्रेसले बैशाख महिनादेखि जरा अभियान सुरु गर्ने बताउँदै अब जनतासँग काँग्रेस जोडिएर उनीहरुका हरेक समस्यामा साथ दिन आवश्यक भएको बताए । पार्टी एकताको आधार १५ औं महाधिवेशन हो, यसलाई सफल बनाउन हामी सबै जुटौ, महामन्त्री पौडेलले भने ।
नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले नेपाली काँग्रेस निर्वाचनमा पराजय भएपनि पद्धतिमा नहारेको बताउँदै नेपाली जनताले पाँच वर्षको लागि मेहेनत गर्न सुझाव दिएका बताए । पाँच वर्षको मेहिनेतबाट पार्टीलाई पहिलो पार्टी बनाउने अभियानमा जुट्न समेत उनले आग्रह गरे ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले काँग्रेसले यस्तो पराजय पहिलाका वर्षहरुमा पनि भोग्दै आएकाले अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको बताए । समीक्षा बैठकमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका पार्टी सभापति, ११ जिल्लाकै प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार सहभागी भई आफ्ना भनाइ राखेका थिए । उक्त कार्यक्रमको सभापतित्व नेपाली काँग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा र स्वागत मन्तव्य कास्की शाखाका सभापति किशोरदक्त बरालले गरेका थिए ।
