धाराखबर समाचारदाता
पोखरा, ७ वैशाख । कास्की जिल्लाको साविक लेखनाथ नगरपालिकालाई पुनःस्थापना गर्नुपर्ने माग उठाइएको छ । स्थानीय नागरिक एवं राजनीतिक दलका नेताहरुले त्यस्तो माग उठाएका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह पुनर्संरचना सम्बन्धी सूचना जारी भएसँगै साबिक लेखनाथ नगरपालिका कायम राख्नको लागि सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेललाई लेखनाथलाई नगरपालिका र मादी गाउँपालिकाले प्रशासनिक संरचनाका लागि सोमवार ध्यानाकर्षण गरेको छ ।
लेखनाथ नगरपालिकाका संस्थापक प्रमुख शालिकराम पौडेल, नागरिक समाजका ओम प्रकाश गुरुङ्सहितको टोलीले ध्यानाकर्षण गराएको थियो । साविक लेखनाथ नगरपालिकालाई पुनःस्थापना गर्ने माग र मादी गाउँपालिकालाई भौगोलिक सहजताका आधारमा विभाजन गर्ने प्रस्तावले स्थानीय प्रशासनिक संरचना कस्तो हुनुपर्छ भन्ने मूल प्रश्नलाई फेरि केन्द्रमा ल्याएको छ ।
लेखनाथका प्रतिनिधिहरूले ऐतिहासिक, भौतिक पूर्वाधार र जनसहभागितामा आधारित विकासको आधार प्रस्तुत गर्दै नगरपालिकाको पुनःस्थापनाको माग गरेका छन्। विगतमा छुट्टै नगरपालिका रहेको लेखनाथले आफ्नो पहिचान, योजना निर्माण क्षमता र स्थानीय सहभागिताको अनुभव बोकेको क्षेत्र हो।
तर, यी मागहरूलाई केवल स्थानीय चाहना वा राजनीतिक दबाबका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन। पुनर्संरचना जस्तो संवेदनशील विषयमा दीर्घकालीन प्रभाव, स्रोत व्यवस्थापन, प्रशासनिक दक्षता र समग्र क्षेत्रीय सन्तुलनलाई ध्यानमा राख्न आवश्यक छ। यदि प्रत्येक क्षेत्रले आफ्नै आधारमा पुनर्संरचनाको माग राख्ने हो भने, समग्र संरचना असन्तुलित हुन सक्ने जोखिम पनि उत्तिकै रहन्छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानअनुसार २० वर्षपछि पुनर्संरचना सम्भव हुने प्रावधानलाई स्मरण गराउँदै आवश्यक परे संशोधनमार्फत अघि बढ्न सकिने संकेत दिएका छन्। यसले राजनीतिक इच्छाशक्ति भएमा संरचनात्मक सुधार सम्भव छ भन्ने देखाउँछ। तर, त्यस्तो सुधार वैज्ञानिक आधार, स्पष्ट मापदण्ड र व्यापक सहमतिमा आधारित हुनुपर्छ, पाण्डेले भने ।
यही सन्दर्भमा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको धारणा महत्वपूर्ण छ—क्षेत्रीय वा क्षणिक स्वार्थभन्दा माथि उठेर दीर्घकालीन हितलाई केन्द्रमा राख्नुपर्ने बताए । लेखनाथ र मादीको ध्यानाकर्षणले एउटा स्पष्ट सन्देश दिएको बताइएको छ ।
