पूर्व नगरप्रमुख एवं एमाले नेता कृष्ण थापाको हृदयघातबाट निधन

प्रदेश समाचार मुख्य समाचार राजनीति

धाराखबर समाचारदाता

पोखरा, २८ फागुन । नेकपा एमालेका नेता कृष्ण थापाको आज दिँउसो हृदयघातका कारण निधन भएको छ । एमालेका केन्द्रीय सदस्य एवं नेकपा एमाले कास्कीका ईञ्चार्ज थापा कास्की निर्वाचन क्षेत्र नम्बर–१ को चुनावी समीक्षा बैठकमा सहभागी भएको बेला एक्कासी हृदयघात हुँदा मृत्यु भएको हो । पोखरा–१६ बाटुलेचौर निवासी थापा ६६ वर्षका थिए ।

समीक्षा बैठकमा आफ्नो भनाई राखेर बसिरहेका बेला उनलाई ह्रदयघात भएको एमाले कास्की जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । समीक्षा बैठक सकिएर उठ्ने बेलामा असहज भयो भन्दै कुर्सीमा बसेका उहाँ बेहोस् हुनु भएको थियो,उनले भने,‘लगत्तै कारमा राखेर ९ मिनेटमै मनिपाल शिक्षण अस्पताल पु¥याए पनि बचाउन सकिएन ।’

दिउँसो करीब २ः४५ बजे थापालाई हृदयघात भएको थियो । लगत्तै अस्पताल पु¥याउँदा करीब २ः५४ भएको थियो । अस्पताल लगेर चेकजाँच गर्दा रिपोर्ट नकारात्मक आएको र चिकित्सकले धेरै प्रयास गर्दा पनि सुधार नआएपछि अस्पतालले ३ः३७ बजे निधन भएको घोषणा गरेको थियो ।थापालाई ब्लड प्रेसर लो सम्बन्धि समस्या रहेको बताइएको छ ।

थापा तत्कालीन पोखरा नगरपालिकामा २०५४–२०५९ मा मेयर भएका थिए । एमालेको गढ मानिने कास्कीमा एमाले बढारिएपछि भने उनी चिन्तामा थिए । कास्की–२ मा टिकट पाएका उनको टिकट खोसेर रश्मि आचार्यलाई दिइएको थियो । यसअघि २०७४ सालको चुनावमा कास्की–२ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित थापा २०७९ सालमा पोखराको मेयरको उम्मेदवार बनेका थिए । उक्त चुनावमा उनले हालका मेयर धनराज आचार्यसँग पराजय ब्यहोर्नुपरेको थियो ।

गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पूर्व मेयर थापाको निधनप्रति दुःख व्यक्त गर्दै उनले पु¥याएको योगदानको स्मरण गरेका छन् । उनले भनेका छन्,‘पोखराको विकास, सामाजिक रुपान्तरण र जनसेवाका क्षेत्रमा पु¥याउनु भएको योगदान सँधै स्मरणीय रहनेछ ।’

यसैबीच, नेकपा एमाले कास्कीले पूर्व मेयर तथा नेता थापाको निधनप्रति दुःख व्यक्त गरेको छ । एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जारी गरेको शोक वक्तव्यमा थापाप्रति श्रद्दाञ्जली व्यक्त गर्दै शोकाकुल थापा परिवारमा समवेदना व्यक्त गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *