महिला अधिकारी प्रभावकारी रुपमा कार्यान्वयन हुनु पर्नेमा जोड

प्रदेश समाचार मुख्य समाचार शिक्षा

धाराखबर समाचारदाता

पोखरा, २८ फागुन । महिलालाई समान अधिकार र पहुँचका लागि नीति नियमको प्रभावकारी कार्यान्वयन हुनुपर्ने कुरामा आज यहाँ आयोजित एक कार्यक्रममा वक्ताले जोड दिएका छन् ।

११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा, नेपाल पत्रकार महासंघ, कास्कीले आयोजना गरेको महिला संवाद कार्यक्रममा बक्ताहरुले महिलाका अधिकार सुनिश्चित गर्न कानुन निर्माण भए पनि त्यसको कार्यान्वयन पक्ष फितलो रहेको बताएका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका उप प्रमुख मञ्जुदेवी गुरुङले कानुनमा नै महिलाको अधिकार र सहभागिता सुनिश्चत भई सकेको अवस्थामा अव महिलालाई कानुनको बारेमा शिक्षा र आर्थिक रुपमा माथि उठ्न आवश्यक रहेको बताइन । महानगरपालिकाले न्यायमा पहुँच वढाउन महिला पुरुष समसचेतना कार्यक्रम सहित आर्थिक सशक्तिकरणका लागि उपप्रमुखसंग महिला कार्यक्रम संचालन गरेको जानकारी उनले दिएकी छन् ।

कोपिला नेपालका कार्यकारी निर्देशक बिना सिलवालले अबको युगमा छोरीलाई संरक्षण सहितको होइन प्रगतिशील मायाको आवश्यक रहेको औल्याइन्। महिलालाई समान अधिकार र पहँुचका लागि वंशीय र अंशीय अधिकारका लागि बनेका नीति नियमलाई प्रभावकारी कार्यान्वयनमा ल्याउनु पर्नेमा उनको जोड थियो । गण्डकी प्रदेशका प्रेस राजिष्टार बिमला भण्डारीले हरेक क्षेत्रका महिलाको आन्दोलनले नै महिलालाई अधिकार दिलाएको बताउदै आवाज उठाउन छोड्न नहुने बताइन् । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका प्रमुख नितु गर्तौलाले महिला शिक्षित र संक्षम भएको खण्डमा राज्यको हरेक निकायमा अर्थपूर्ण सहभागिता सुनिश्चित हुदै जाने बताइन् ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमले महिला बीचको एकता र उद्यमशीलताको विकासले नै महिलाका हक र अधिकार प्राप्त हुदै जाने बताइन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्मा, टेवान गण्डकीका अध्यक्ष शोभा पाण्डे, गैह्र सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष इन्दिरा पौडेल, इन्सेक गण्डकीका संयोजक गणेश भण्डारी लगाएतले आफ्नो धारण राखे । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षता उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *