धाराखबर समाचारदाता
पोखरा, १९ माघ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र नं २ का उम्मेदवार माधवप्रसाद बाँस्तोला (मधु) ले जेन्जी समुहले उठाएको भ्रष्टाचारका मुद्दा काँग्रेसको पनि एजेण्डा रहेको बताएका छन् ।
पोखरा–२१ कृस्तिस्थित नेपाली काँग्रेस निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क कार्यालयको सोमबार उद्घाटन गर्दै उम्मेदवार बाँस्तोलाले सुशासनले मात्र देशको समृद्धि हुन सक्ने बताए । युवालाई राज्यका हरेक तहमा समेटेर लान सकियो भने युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न सकिने भनाइ उनको छ ।
वर्तमान संविधान संशोधन नभएसम्म कुनैपनि पार्टीको एक माना सरकार गठन नहुने बताउँदै सबै दलको सहयोगबाट मात्र संशोधन हुन सक्ने जानकारी उनले दिए ।नेपाली काँग्रेस प्रजातान्त्रिक पार्टी भएकाले हरेक नागरिक स्वतन्त्र रुपमा बाच्न पाउने अधिकारी काँग्रेसमा मात्र भएको भनाइ उहाँको छ ।
जेन्जी आन्दोलनमा जलेका संरचनाको पुनः निर्माण गरी विकास निर्माणलाई अगाडि वढाउन काँग्रेस चाहन्छ, उनले भने–कास्कीको दक्षिण क्षेत्र निर्मलपोखरी र भरतपोखरीको पर्यटन विकासका आफ्नो जोड रहने बताउँदै उनले वर्षेनी सुरौदी र फुस्रे खोलाले स्थानीयको खेत कटान गर्दा उनीहरु मरमा परेको हुँदा ती खोला नियन्त्रणमा आफ्नो विशेष पहल हुने बताए ।
यस क्षेत्रमा व्यवसायिक कृषिको सम्भावना प्रचुर मात्रामा भएकाले यहाँको कृषिलाई व्यवसायिकता तर्फ लैजाने प्रतिवद्धता समेत उनले व्यक्त गरे । साथै उम्मेदवार बास्तोलाले आजै कृस्तिका केही मतदाताको घरमा पुगेर सुझाव संकलन गर्ने काम गरेका थिए । साथै बास्तोलाले ज्येष्ठ नागरिकलाई समेत भेट गरेका थिए ।
त्यस्तै नेपाली काँग्रेस कास्की क्षेत्र २ का सभापति केशर निर्दोषीले नेपाली काँग्रेसको केन्द्रीय समितिमा युवा नेतृत्व आएकाले मतदातामा थप उत्साह पैदा भएको बताए । सो अवसरमा महासमिति सदस्य बीरेन्द्र नारायण विजुक्छेले नेपाली काँग्रेसमा गुटको अन्त्यभई पार्टी एक ढिक्का भएको सन्देश जनतामाझ आएपनि काँग्रेसलाई चुनाव जित्न सजिलो भएको बताए ।
सो अवसरमा स्थानीय नेता भोजराज पौडेल, प्राडा रामचन्द्र पोखरेल, दीपेन्द्रराज आचार्य, विजयराज आचार्य लगायतले आफ्ना भनाइ राखेका िथए ।
