धाराखबर समाचारदाता
पोखरा,२८ चैत। राष्ट्रिय हेमजा आलु महोत्सवमा सहभागीको संख्या वढ्दो छ ।शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार दर्शक सहभागिता बढेको हो ।
शनिबार विदा परेको र मौसमले समेत साथ दिएसँगै जनसहभागिता बढ्दै गएको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए । शनिबार मात्रै करिव ८ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको तथ्याङ्क आयोजक संस्थाले दिएको छ ।
महोत्सव पुग्ने दर्शक अधिकाशंले कृषि स्टलमा चासो राख्ने गरेको पाइएको छ। किनकी महोत्सव प्रवेशसँगै त्यहाँ कृषि उपज तथा सामग्रीका स्टलहरु देख्न सकिन्छ । आलु महोत्सव भएकाले आलुको ज्ञान लिन आउने दर्शक संख्या पनि बाक्लै छ, । महोत्सव स्थलमा आलुको प्रजाति तथा अन्य विभिन्न तरकारीका वीउ विजन प्रदर्शनी गरिरहेको कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक सहायक बालकृष्ण भारतीले जानकारी दिए । त्यहाँ निर्देशनालयले २५ प्रजातिका आलु तथा ३७ प्रकारका अन्य तयारीका बीउ प्रदर्शनीमा राखेको छ ।
महोत्सव अन्तर्गत शनिबार कलाकारहरु शान्तारानी परियार, अनिल चापागाई, करिष्मा विसी, पूजा तामाङ, नेत्र खङ्का, परशुराम अधिकारी, सुनिल गायक, आयुषा खत्री तथा मुना अर्यालले प्रस्तुति राखेका थिए । महोत्सवमा आइतबार कलाकारहरु बद्री पंगेनी, ममता तामाङ, शान्ता वर्देवा, रोशन विसी, नेत्र खड्का, परशुराम अधिकारी, मुना अर्याल, आयुषा खत्री लगायतले दर्शकलाई मनोरञ्जन दिनुहुने मूल आयोजक समितिका महासचिव विकल थापाले जानकारी दिए । महोत्सव स्थलमा प्रतिकेजी रु.३५ मा आलुको कारोवार हुने गरेको छ।
