धाराखबर समाचारदाता
पोखरा, १३ चैत । धर्मप्रतिको आस्था र परम्पराप्रतिको समर्पणमा कत्तिपनि कमी आएको छैन, ६० वर्षीया कल्पना पौडेलमा । त्यही आस्थाको समर्पणमा साढे तीन घण्टा ठाडो उकालो पैदल हिँडेरै पुगिन उनी चैत शुक्ल अष्टमीमा दिन शीतलादेवीको पूजाआजा र दर्शन गर्नकै लागि ।
सिमसिम झरी परेको छ, तर मनभित्रको धार्मिक आस्थालाई न झरी न परिवारका सदस्यले नै रोक्न सके । स्याङ्जा फेदीखोलास्थित आरुखर्कबाट साढे तीन घण्टाको ठाडै उकाले उनी हिँडेरै पुगिन समुन्द्र सतहदेखि २१ सय मिटर उचाइँमा रहेको गाउँको शिर गलेममा अवस्थित शीतलादेवी मन्दिर दर्शन र पूजाआजा गर्न ।
उनी भन्दै थिईन् शीतलादेवीको दर्शन गर्नले मनमा शान्ति र परिवारमा राम्रो होस् भन्ने नै हो, उक्त मन्दिरमा पूजाआजा र दर्शन गर्न उनी त्यहाँ पटकपटक पुगेकी छन् । उनी मात्र हैन अष्ठमीका दिन आज बिहीबार त्यहाँ सयौको संख्यामा पूजाआजा र दर्शन गर्न पुगेका थिए ।
शीतलादेवीको पूजाआजाकै लागि त्यहाँ पुगेकी स्याङ्जा गलेम जन्मघरभई काठमाण्डौ बस्दै आएकी मीना गुरुङ भन्दै थिइन् आफूले बाल्यकालदेखी नै पूजाआजा र दर्शन गर्दै आएको शीतलादेवीलाई भुल्न नसक्ने बताइन् । जुनसुकै दशैं आउन थाल्छ गाउँमा अवस्थित शीतलादेवीको सम्झना आइहाल्छ । देवीको आशीर्वादले आफ्नो जीवनमा परिवर्तन आएको उनी बताउछिन् ।
बडा दशै र चतै दशैमा यहाँ शीतलादेवीको पूजाआजा र दर्शन गर्न हजारौको संख्यामा भीड लाग्ने गर्छ । मन्दिरका पूजारी छविलाल पौडेलले साढे दुई सय वर्षको इतिहास रहेको शीतलादेवीको पूजाआजा र दर्शन सुरुदेखीनै गरिँदै आएको भएपनि पञ्चवली केहीवर्षपछि मात्र सुरु गरिएको बताए । देवीको पूजाआजा गर्नाले मनले चिताएको पुग्ने र विषेशगरी सन्तान प्राप्त हुने र वषौंदेखि हराएका परिवारका सदस्य आफ्नौ घरसम्झेर फर्कने र फेला पर्ने जनविश्वास छ ।
स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं ४ मा अवस्थित शीतलादेवी मन्दिरमा पूजाआजा र दर्शन गर्न स्याङ्जा, कास्की, तनहुँ, चितवन, काठमाण्डौ, पाल्पा, पर्वत लगायतका जिल्लाबाट त्यहाँ पुग्ने गर्छन र शीतलादेवीलाई पञ्चवली दिने कार्यपनि वषौंदेखि चल्दै आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजकुमार ढकालले सुनाए । मन्दिरमा विशेषगरी वडा दशै, चैत्राष्ठमी, नवमी, वाला चर्तुदशी र शिवरात्री पर्वमा भत्तजनहरुको ठूलो भीड लाग्ने गर्छ ।
उक्त स्थान धार्मिक रुपमा मात्र नभएर पर्यटकीय रुपमा पनि प्रसिद्ध रहको र यहाँबाट अन्नपूर्ण र धौलागिरि हिमश्रृंखलाका साथै पोखरा बजार, पञ्चासेधाम, पर्वतको कार्कीनेटा, डहरेलेक, नुवाकोट दरबार लगायतका स्थानको दृष्यावलोकन गर्न सकिने जानकारी शीतलादेवी मन्दिर व्यवस्थापन समतिका सल्लाहकार दिलबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार शीतलादेवी मन्दिरकै छेउमा फूलवारीमा परापूर्व कालदेखी नै एक तपस्वीले तपस्या गरेर बसेको र त्यहाँ अहिले पनि भत्किएको अवस्थामा कुटी, धुनी, मण्डप रहेका छन् ।
घना जंगल र ठूलाठूला खर्क भएको उक्त स्थानमा परापूर्वकालमा स्थानीय गलेम, रापु, खामहाले, टुटे लगायतका मानिसहरुले साढे दुई सय वर्षअघि गाईबस्तु पाल्नका लागि गोठहरु राख्ने र त्यति बेला नै गोठालाहरुले खर्सुको रुखमुनी शीतलादेवीको मन्दिर स्थापना गरी पूजाआजा गर्न थालेपछि उक्त स्थान धार्मिक रुपमा विकसित हुँदै आएको हो ।
किवदन्ती अनुसार त्यतिबेला गोठालाहरुको गाईबस्तुलाई जंगली जनावर ब्यासोले दुःख दिन थालेपछि एक दिन वृद्ध गोठालाले राति सपनामा साक्षत शीतला नाम गरेकी देवी प्रकट भएपति ती गोठालाहरुले त्यसस्थानमा मन्दिर स्थापना गरी पूजाआजा गर्दै आएपछि ब्यासोले समेत गाईवस्तुलाई दुःख दिन छाडेको जनविश्वास छ । गाउँका मानिसहरु अहिले पनि नयाँ वाली लगाउने र भित्र्याउने वेलामा देवीको पूजाआजा गर्ने गरेको जानकारी पूजारी छविलाल पौडेलले दिए ।
धार्मिक तथा पर्यटकीय महत्व बोकेको राम्चे शितलादेवी मन्दिर तथा थानमा दुई वर्षपहिला पहिलो पटक जिप पुगेपनि सडकको स्तरउन्नति नह्ँदा भत्तजनहरु हिँडेरै आ्रुखर्कदेखि आठ किलो मिटर उकालो हिडेर मन्दिरमा दर्शन गर्न पुग्छन् । फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले शीतलादेवी मन्दिर गाउँभन्दा निकै टाढा भएको बजेट अभावका कारण त्यहाँ पुग्ने मोटर बाटोको ट्याक खोलिएको भएपनि बजेट अभावका कारण मर्मत र स्तरउन्नति गर्न नसकिएको बताए । उनले भने मन्दिरमा मुस्किलले मटोरसाइकल लान सकिन्छ, जीप लान अझै सकस हुने भनाइ उनको छ ।
स्थानीय इन्द्रबहादुर गुरुङले मन्दिर संरक्षण स्थानीयको सहयोगबाट नै हुँदै आएको र सरकारी क्षेत्रबाट मन्दिर संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए । स्याङ्जाको कर्णाली भनेर चिनिने उक्त स्थानको विकासमा तीनै तहको सरकारको ध्यान जान जरुरी छ, उनले भने–शीतलादेवी दर्शन गर्न जाने भत्तजनले कहिलेसम्म दुःख पाउने ?
सिदार्थ राजमार्गबाट ११ कि.मि.को दुरीमा अवस्थित यो मन्दिर फेदीखोला गाउँपालिकाकै प्रमुख प्रसिद्ध धार्मिक स्थल हो । यहाँ विजयादशमी तथा चैते दसैं र बालाचतुर्दशीमा भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ, गुरुङले भने स्याङ्जाको सर्केटारीबाट आरुखर्क, गलेम, शितलादेवी मन्दिरहुँदै पञ्चासे धाम जानका लागि पदमार्गको रुपमा विकास गर्न आवश्यक छ । उक्त मन्दिरबाट पञ्चासे धाम तीन घण्टाको पैदल यात्रामा पुगिने जानकारी पनि गुरुङले दिए ।
मन्दिरमा वषौंदेखि चैते दशैं मेला समेत लाग्दै आएको छ । चैते दशैंको अष्टमी र नवमीका दिन विहीबारदेखि स्थानीय शीतला युवा क्लव गलेमले ११ औं राम्चेदेवी चैते दशै मेला र खुल्ला पुरुष भलिवल प्रतियोगिता आयोजना गरेको छ । बिहीबार सम्पन्न खुल्ला भलिवल प्रतियोगितामा स्थानीय सिद्धवराह युवा क्लव प्रथम र शीतला युवा क्लव फेदीखोला द्धितीय भएका छन् । भलिवलमा नौ समूहले सहभागिता जनाएका थिए भने खेलको उद्घाटन फेदी गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले गरेका थिए ।
