धाराखबर समाचारदाता
पोखरा, ६ पुस । तीनवर्षे ठेक्का अवधि सकिएपनि पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगतिले गति लिन सकेको छैन ।
पोखरा–मुग्लिन सडकमा पर्ने उक्त पुलको ठेक्का अवधि गत भदौमालसकिएको हो॥ विसं २०७९ साउनमा निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो ।पोखरा–मुग्ुिलन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)का प्रमुख कृष्णबहादुर कुँवरले पुल बन्न अझै एक वर्ष लाग्ने बताए । ‘मापदण्डभित्रका संरचना हटाउन खोज्दा अवरोध आएकाले सुरुको चरणमा निर्माणले गति लिन सकेन, पुलको डिजाइन स्वीकृत हुन पनि समय लाग्यो’, उनले भने, ‘पुलका लागि चाहिने केबललगायत सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले काममा ढिलाइ भइरहेको हो ।’
‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा चारवटा जगको काम पूरा भएको उनले जानकारी दिए । तीनवटा टावर निर्माण भइसकेको र एउटा निर्माणका क्रममा रहेको प्रमुख कुँवरले बताए । आकर्षक डिजाइनमा बन्ने उक्त ‘सिग्नेचर’ पुलको जग निर्माणमा बढी समय लागे पनि टावरलगायत माथिल्लो संरचनाको काम छिटो हुने निर्माण कम्पनीले जनाएको छ । छ लेनको उक्त सडकका अहिले रहेको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुईवटा ‘सिग्नेचर’ पुल बन्ने प्रमुख कुँवरले बताए।
एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत उक्त पुल निर्माण भइरहेको हो । भ्याटबाहेक रु ९४ करोडको ठेक्कामा रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको काम गरिरहेको हो । ‘सिग्नेचर’ पुल बनेपछि पर्यटकीय राजधानी पोखराको आकर्षण पनि बढ्ने छ । पुरानो प्रविधिको भन्दा अहिले बनाउन लागि पुल डिजाइनका हिसाबले आकर्षक रहेको जनाइएको छ ।
एक सय ९० मिटरको उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग हुने प्रमुख कुँवरले बताए । पुल निर्माणपूर्व विदेशी प्राविधिकसहितको टोलीले पुलको डिजाइन गरेको थियो । पोखरा–मुग्लिन सडक चार लेनमा विस्तार तथा स्तरोन्नति आयोजनाअन्तर्गत पोखराको सेती र तनहुँको मादी नदीमा सिग्नेचर पुल निर्माणाधीन अवस्थामा छन् ।
पचास वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक २०७८ साल वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको थियो । निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ ।
