तरबुजा खेतीतर्फ पोखराका किसान आकर्षित

अर्थतन्त्र प्रदेश समाचार मुख्य समाचार

धाराखबर समाचारदाता

पोखरा, ४ माघ । तराई र भारत लगायतका देशबाट आएको तरबुजा उपभोग गर्दै आएका पोखरेली उपभोक्ताले दुई वर्षदेखि आफ्‌नै माटोमा फलेको स्वादिलो तरबुजा खान पाउँदा मख्ख छन् ।

तरबुजा पहाडी क्षेत्रमा पनि राम्रो फल्छ भन्ने कुरा चरितार्थ पार्न सफल बनेका छन् यहाँका किसान । अघिल्लो वर्ष पोखरा–१३ ढाँडबेँसी र पोखरा –३३ सुरौदी खोला किनाराको तिखेढुङ्गाका फाँटमा तरबुजा लटरम्म फलेपछि यहाँका किसनहरु व्यवसायिक तरबुजा खेतीमा आकर्षित बनेका छन् ।

गत वर्ष व्यवसायिक र अन्य गरी ७० जना किसानले तरबुजा खेती गर्दै आएकोमा यस वर्ष एक सय ६० जनाले तरबुजा खेती गर्न इच्छा जनाएका छन् । अधिकाशं व्यवसायिक रुपमा तरबुजा खेती गर्ने तयारी गरिरहेको पोखरा महानगरपालिका कृषि विकास महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो ।

अघिल्लो वर्ष कास्कीको दुई सय रोपनीमा दुई करोड रुपैयाँ बराबरको तरबुजा उत्पादन भएको र यस वर्ष व्यवसायिक रुपमा थप किसानलाई तरबुजा खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले अनुदानमा सरस्वती जातको तरबुजाको बीउ र मलचिङ वितरण गर्दै आएको जानकारी कडरियाले दिनुभयो ।

“हामीले लगाएको तरबुजा अघिल्लो वर्ष लटरम्म फल्यो, तीन हजार पाँच सय किलोग्राम तरबुजा उत्पादन गर्‍यौ ।” सुरौदीको तिखे ढुङ्गामा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले भन्नुभयो ।

आचार्य र कार्कीले संयुक्त रूपमा गरेको तरबुजा खेती होस् वा आर्वाको ढाँडबेँसीमा इन्जिनियर विक्रम बरालसहित युवा रवि, अर्जुन, मनिशले लगाएको तरबुजा यतिखेर रोजगारीकै खोजीमा विदेशिएका युवाका लागि पनि दरिलो पाठ बनेको छ ।

अघिल्लो वर्ष आर्वाको ढाँडबँेसी फाँटमा १५ रोपनी क्षेत्रफलमा गरिएको तरबुजा खेतीबाट १५ लाख रूपैयाँ आम्दानी गरेको कृषक श्रीधर बरालले सुनाउनुभयो । पोखरा महानगरपालिका–३३ सुरौदी फाँटको तिखेढुुङ्गाका अगुवा कृषकद्वय ज्ञानबहादुर कार्की र रमेश आचार्यले ३५ रोपनी क्षेत्रफलमा तरबुजा खेती गर्दै आएकोमा यस वर्ष अझ वढी क्षेत्रफलमा लगाउने तयारी गरेका छन् ।

यहाँमा किसानले सरस्वती, रेड भेलरेट, फनेक्स, मान्ठाना र राजा जातका तरबुजा फलाएका छन् । पोखरा–१३ पाटनवेशीका बुद्धप्रसाद बरालले तीन रोपनी क्षेत्रफलमा तरबुजा लगाएकोमा झण्डै ६०० किलोग्राम बिक्री गरेका थिए ।

महानगरपालिका–१३, २१ , २३, ३०, ३२ र ३३ मा यस खेतीतर्फ आकर्षण बढिरहेको जानकारी प्रमुख कडरियाले दिनुभयो । स्थानीय रूपमा उत्पादित तरबुजाको स्वाद पनि निकै मीठो रहेको उहाँले बताउनुभयो ।

अघिल्लो वर्ष पोखरामा करिब ४०० टन (लगभग दुई करोड रूपैयाँ बराबर)को तरबुजा उत्पादन भएको उहाँको दावी छ । महानगरपालिकाले पोखरामा उत्पादित सरस्वती जातको खरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि स्टिकर तयार गरेको कडरियाले जानकारी उहाँले दिनुभयो ।

यहाँका किसानलाई प्रोत्साहन गर्न महानगरपालिमकाले शुक्रबार मात्र सात लाख बराबरको तरबुजाको बीउ र मmचिङ बितरण गरेको छ । माघ महिनामा लगाइएको तरबुजा जेठ असार महनिामा खान या्‌ेग्य हुन्छ । अघिल्लो वर्ष पोखरा–३३ सुरौदीको तिखेढुङ्गमा लगाइएको तरबुजा एउटैको सात किलो ८६० ग्राम तौलको पाइएको थियो ।

प्रदर्शनीमा कृषि फर्म तथा व्यक्तिगत रूपमा तरबुजा खेती गर्नेहरूका उत्पादनलाई तौल गरिएकोमा रमेश आचार्य र ज्ञानबहादुर कार्कीले तिखेढुङ्गामा लगाएको तरबुजा सबैभन्दा बढी तौलको प्रमाणित गरिएको हो । मेलाका अवसरमा ठूलो तौलको फलाएवापत उनीहरूलाई पाँच हजार रूपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो ।

यस वर्ष यहाँका किसानले तीन चार रोपनी देखि २५ रोपनीसम्म तरबुजा खेती गर्ने तयारी गरेका छन् । अघिल्लो वर्ष तरबुजाको ममूल्य प्रतिकेजी ५० रुपैयाँमा बिक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *