जन्मस्थल अर्चलेमा मनाइयो लेखनाथको १४२ औं जन्मजयन्ती

प्रदेश समाचार मुख्य समाचार शिक्षा

धाराखबर समाचारदात

पोखरा, १५ पुस । कवि शिरोमणि लेखनाथ पौड्यालको १४२ औँ जन्मजयन्ती आज उहाँकै जन्मस्थल कास्कीको अघौं अर्चलेमा मनाइएको छ ।

कवि शिरोमणि लेखनाथ पौड्याल जन्मजयन्ती मुल समारोह समिति, लेखनाथ साहित्य प्रतिष्ठान लगायतका संस्थाहरुको संयुुक्त आयोजनामा आज( मंगलबार) कविको जन्मस्थल अघौं अर्चलेमा उहाँको १४२ औं जन्मजयन्ती मनाइएको हो ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपालमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा समेत प्रसिद्ध कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल अर्चलेलाई आफूले साहित्यिक भिलेजको रुपमा विकास गर्ने लक्ष्य लिएको बताउनुभयो ।

दुई वर्ष अघि मात्र कविको जन्मस्थल अघौं अर्चलेमा कवि शिरोमणि लेखनाथ पौड्यालको पूर्ण कदको शालिक निर्माण गरिएको छ । अब जग्गा प्राप्तिपछि आर्चलेलाई साहित्यिक भिलेजको रुपमा विकास गर्न महानगरले बजेट विनियोजन गर्ने आश्वाशन दिनुभयो ।

देशैभरिका साहित्यकार तथा कविहरुले आवासीय रुपमा यही बसेर कविता रचना गर्न सकुन भनेर नै अर्चलेलाई साहित्यिक भिलेजको रुपमा विकास गर्न लासगिएको उहाँले बताउनुभयो । गण्डकी प्रदेश साहित्य, कला र संस्कृतिमा अत्यन्तै धनी भएकाले यहाँ नै आदिकवि भानुभक्त आचार्य, लेखनाथ पौड्याल, माधवप्रसाद घिमिरे जस्ता कविहरु जन्मेको उहाँले बताउनुभयो ।
लेखनाथ पौड्यालको जन्म वि. सं. १९४१ पुस १५ गते कास्कीको अर्घौअर्चलेमा भएको थियो । वि. सं. २००८ असार २९ गते पौड्याललाई राजा त्रिभुवनले कवि शिरोमणिको पदवी र मासिक दुई सय रुपैयाँ आजीवन भत्ताको व्यवस्था गर्नुभएको थियो ।
२०११ पुस २० गते पौष शुक्ल एकादशीका दिन उहाँको जन्म तिथि पारेर रथयात्रा गरी नागरिक अभिनन्दन गरिनुका साथै पाँच हजार रुपैयाँ पनि प्रदान गरिएको थियो । रथयात्रा लैनचौर चौताराबाट शुरु भएर ऐतिहासिक टुँडिखेल खरीबोट पुगेर टुङ्गिएको थियो ।

पण्डित दुर्गादत्त पौड्याल र माता वसुन्धरादेवी पौड्यालका पुत्र लेखनाथको प्रारम्भिक शिक्षा पाँच वर्षको उमेरमा घरबाटै आरम्भ भयो । थप अध्ययनका लागि १५ वर्षको उमेरमा उहाँ काठमाडौँको रानीपोखरी संस्कृत पाठशालामा भर्ना हुनुभएको थियो । त्यहाँ मध्यमासम्म अध्ययन गरे पनि परीक्षामा सफल हुन नसकेपछि उनको औपचारिक अध्ययनमा पूर्णविराम लागेको थियो ।
साहित्यप्रतिको कदरस्वरूप पौड्याललाई मरणोपरान्त ०२६ सालमा त्रिभुवन प्रज्ञा पुरस्कार प्रदान गरिएको थियो । वि. सं. २०२२ साल फागुन ७ गते शिवरात्रिको दिन उहाँको देहावसान भएको थियो ।

२०१४ सालमा स्थापित नेपाल एकेडेमीमा उहाँ पनि नियुक्त हुनुभएको थियो । २०१९ सालमा उहाँको नाम र चित्रअङ्कित १५ पैसाको हुलाक टिकट प्रकाशित गरिएको थियो ।

कवि शिरोमणि पौड्यालले १५ वर्षकै उमेरदेखि कविता लेख्न थाल्नुभएको थियो । गोठालो जाँदा काका नाता पर्ने पितृप्रसादको हतोत्साह र रानीपोखरी संस्कृत छात्रावासमा बस्दा अग्निधर शर्माको तिरस्कारले साहित्यमा लाग्न प्रेरित गरेको बताइन्छ । वि. सं. १९६१/६२ सालमा ‘कविता कल्पद्रुम’ भित्रका शृङ्गार पच्चीसी र मानषाकर्षिणीबाट उहाँको कविता लेखन आरम्भ भएको मानिन्छ ।

उहाँकै जन्मजयन्तीका अवसरमा आज लेखनाथ साहित्य पुरस्कारबाट साहित्यकार घनश्याम कंडेल, कसन्तादेवी साहित्य पुरस्कारबाट गंगा कर्माचार्य, लेखनाथ सांस्कृतिक पुरस्कारबाट साहित्यकार नवरनज अधिकारीलाई सम्मान गरिएको छ । त्यस्तैगरी लेखनाथ पत्रकारिता पुरस्कारबाट पत्रकार कविराज खनाल र स्मीता अधिकारीलाई सम्मान गरिएको छ ।

सो अवसरमा कवि तथा साहित्यकारहरुले आफ्‌ना कविता बाचन गर्नुको साथै आफ्‌ना मन्तव्य राख्नुभएको थियो । लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष गोपीराज पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा धन्यवाद लेखनाथ साहित्य प्रतिस्ठानका अध्यक्ष पदमराज ढकालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *