धाराखबर समाचारदाता
पोखरा, १४ पुसः इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखरा र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको संयुक्त आयोजनामा आजदेखि पोखरामा हस्तकला तथा गार्मेन्ट मार्ट (मेला) सुरु भएको छ ।
दुईदिने उक्त मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले स्वदेशी उत्पादनको प्रवद्र्धन र बजारीकरणमा मेलाले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
“यस्ता मेला–महोत्सवले स्थानीय कला, सीप र प्रविधिको जर्गेनाका साथै आयआर्जन र उद्यमशीलता विकासमा टेवा पुग्छ”, उहाँले भन्नुभयो, “गण्डकी प्रदेश सरकारले पनि स्थानीय कच्चा पदार्थमा आधारित उद्यम विकासका लागि लगानी गर्दै आएको छ । पाँच जिल्लामा स्वदेशी उत्पादनको कोसेली घर बनाउने योजना अगाडि बढाइएको छ ।”
लगानी र प्रविधिको अभावमा रैथाने ज्ञान र सीप विस्थापित हुँदै गएको भन्दै मन्त्री बस्यालले ग्रामीण अर्थतन्त्र उकास्न स्थानीय उत्पादनमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।
नेपाल पर्यटन बोर्ड, प्रदेश कार्यालय प्रमुख मणिराज लामिछानेले मेलाबाट आर्थिकसँगै पोखराको पर्यटकीय गतिविधिमा टेवा पुग्ने बताउनुभयो । हस्तकलामार्फत बनाइएका वस्तु तथा हातेतानमार्फत बुनिएका कपडासँगै उक्त क्षेत्रमा क्रियाशील व्यवसायीलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ मेला आयोजना गरिएको उहाँको भनाइ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन स्थानीय उत्पादनको बजारीकरण गर्नुपर्नेमा जोड दिनुभयो । पोखरा भ्रमण वर्ष–२०२५ का संयोजक गोपीबहादुर भट्टराईले हस्तकला तथा गार्मेन्ट मार्टलाई निरन्तरतासहित विस्तार गर्नुपर्ने धारणा राख्नुभयो ।
होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरामा हुने मेला–महोत्सवले पर्यटन क्षेत्र चलायमान हुने गरेको बताउनुभयो । उहाँले अङ्ग्रेजी नयाँ वर्षको सम्मुखमा भइरहेका विभिन्न पर्यटकीय गतिविधिले पोखरा होटल तथा रेष्टुराँ पाहुनाले भरिभराउ भएको बताउनुभयो ।
पोखरा महानगरपालिका, व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले नेपाली उत्पादनलाई विश्वबजारसम्म पुर्याउनुपर्ने बताउनुभयो । स्वदेशी उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि सरकारले लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, गण्डकी प्रदेश समितिका महासचिव जमुना शर्मा ‘वर्षा’, मेलाका संयोजक सुरेन्द्र पौडेललगायतले धारणा राख्नुभएको थियो ।
‘एगा’ पोखराका अध्यक्ष गोकर्ण लम्सालले स्थानीय उत्पादन राष्ट्रिय एवं अन्तरराष्ट्रियस्तरमा बजारीकरणमा मेलाले योगदान पुग्ने विश्वास लिइएको बताउनुुभयो ।
मेलामा गण्डकी प्रदेशका कास्की, स्याङ्जा, पर्वत, लमजुङ, म्याग्दी, नवलपुर र रुकुम पूर्वलगायत जिल्लाका उद्यमीले तयार गरेका हेम्स, अल्लो, ऊनलगायतबाट बनेका सामग्री प्रदर्शनी तथा बिक्रीमा राखिएका छन् ।
