बेगनासका डुंगा व्यवसायीलाई दैनिकीको चिन्ता

पर्यटन प्रदेश समाचार मुख्य समाचार

धाराखबर समाचारदता
पोखरा, ६ पुस । बेगनासतालमा आउने स्वदेशी तथा विदेशी पर्यटकको संख्या दश वर्षयता घट्दैगएपछि यहाँका पर्यटन र डुङ्गा व्यवसायी चिन्तित बनेका छन । पोखराको बैदामस्थित फेवातालमा पुग्ने पर्यटकमध्ये बेगनासमा न्यून संख्यामा जाने गर्छन् ।


सार्वजनिक बिदाका दिन बेगनासतालमा घुम्न आउने आन्तरिक पर्यटक केही मात्रामा देखिएपनि विदेशी पर्यटक दुई–चार जना मात्र देखिने गरेको बेगनासतालमा ३७ वर्षदेखि डुङ्गा व्यवसाय गर्दै आएका मेघनाथ तिवारीले बताए । वि.स.२०७२ सालको भूकम्पसँगै बेगनासतालमा आउने पर्यटकको संख्या घट्दै जानुको साथै त्यसपछिको कोरोना संक्रमण, विभिन्न घटनाक्रम र सडकका कारणले गर्दा त्यो संख्या वढ्न सकेको छैन्, तिवारीले धारा खबरलाई सुनाए ।


वषौंदेखि थला परेको डुङ्गा व्यवसायमा पछिल्ला वर्षमा सुधार हुने आशा गरिएको भएपनि मुग्लिङ– पोखरा, तालचोक– बेगनास सडक पुनः निर्माणका ढिलाइले बेगनास पुग्ने पर्यटकको संख्या झनै घटेको गुनासो बेगनासतालका डुङ्गा व्यवसायी सोमराज कंडेलले सुनाए ।


बेगनास ताल डुङ्गा व्यवसायी समितिका पूर्वअध्यक्ष ढकनाथ कँडेलले डुङ्गा व्यवसायबाट दैनिकी नचलेपछि तीस प्रतिशत व्यवसायीले विकल्पको रुपमा अन्य व्यवसाय रोजेको जानकारी दिए ।बाँकी रहेका व्यवसायीले पनि व्यवसायसँगै अन्य काममा समेत सम्लग्न हुने गरेको उनले सुनाए ।


पोखरा महानगरपालिका वडा नं ३१ मा रहेको बेगनासतालमा आन्तरिक पर्यटक नौका विहार र माछाका परिकार खान त्यहाँ पुग्ने गर्छन् । माछाका परिकारका लागि बेगनासताल वर्षौंदेखि प्रसिद्ध मानिँदै आएको छ । यति बेला सबै डुङगा सञ्चालनमा छैनन्, आलोपालो चलाउने गरिन्छ । बेगनासमा दुई सय ८० डुङ्गा सञ्चालनमा छन् भने दुई सयको संख्यामा डुङ्गा व्यवसायी छन् । व्यवासयीले डुंगाको पालो कुर्न एक हप्ता पर्खनु पर्छ, अध्यक्ष कँडेलले भने–महिनाको तीन हजार रुपैयाँले परिवार कसरी चल्न सक्छ ।


बेगनास तालमा डुंगामा एक घण्टा नौका विहार गरेबापत रु ७ सय र पाइडलबोटको रु एक हजार पाँचसय लिने गरिएको जानकारी बेगसान डुङ्गा व्यवसाय समतिका अध्यक्ष रबिराज कंडेलले दिए । बेगनासतालमा तीनवटा मोटरबोट भएपनि ति मोटरबोट बराह मन्दिरमा जान आउनका लागि मात्र प्रयोग हुन्छन् । डुङ्गाबाट ताल वरपरका जङ्गल, बेगनास तथा माझठाना गाउँ, अन्नपूर्ण हिमशृङ्खला, कालिकाको ठूलाकोट, तथा बेगनासको सुन्दरीडाँडाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।


बेगनास तालमा विसं २०३७ देखि व्यावसायिक रुपमा डुङ्गा सञ्चालन हुँदै आएको हो । बेगनासतालका होटल व्यवसायी सोमबहादुर लालचनका अनुसार पर्यटकको संख्या दशवर्षदेखि घट्दै भएको र यहाँको पर्यटन व्यवसाय स्वदेशी पर्यटकले धानिएको छ भने एकादुईइजरायली पर्यटक मात्र आउछन् उनीहरुले पनि धेरै पैसा खर्च गर्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *