धाराखबर समाचारदाता
पोखरा, २ फागुन । आर्थिक रुपमा विपन्न मृगौला पीडित ४९ वर्षीया बुद्धिसुवा गुरुङलाई शनिबार पोखरामा एक लाख रुपैयाँ आर्थिक सहयोग जुटेको छ ।
कास्की माछापुच्छ्रे गाउँपालिका सार्दीखोला निवासी मृगौला पीडित गुरुङलाई शनिबार स्व.लक्ष्मीसुन्दरी कर्माचार्य मृगौला पीडित सहयोग कोष अन्तरगत एक लाख रुपैयाँ प्रदान गरिएको हो ।
चन्द्रकृष्ण कर्माचार्य परिवारद्धारा स्थापित तथा कर्माचार्य समाज कास्कीद्धारा संचालित उक्त सहयोग रकम कर्माचार्य समाज कास्कीको पाँचौ स्थापना दिवसको अवसरमा मृगौला पीडित गुरुङलाई हस्तान्तरण गरिएको हो ।उक्त सहयोग रकम पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गुरुङलाई हस्तान्तरण गर्दै आर्थिक अवस्था कमजोर भएकै कारण समाजमा उपचार गर्न नसक्ने धेरै विरामीहरु मध्य एक जना गुरुङले पाएको र उनीलाई केही मात्रामा भएपनि राहतको महशुस भएको बताए ।
कर्माचार्य समाज कास्कीले तीन वर्षयता आर्थिक रुपमा विपन्न वर्गमन मृगौला पीडितलाई एक लाख रुपैयाँका दरले सहयोग प्रदान गर्दै आएको छ । यस अघि मृगौला पीडित लक्ष्मी विश्वकर्मा र सोविता परियारलाई एकएक लाख रुपैयाँको दरले उपचार सहयोग गरिएको जानकारी कर्माचार्य समाज कास्कीका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले दिए ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले उपचारका लागि पैसा नभएकै कारण धेरै नेपालीले अकालमै ज्यान गुमाउनु परेको बताउँदै आर्थिक रुपमा विपन्न परिवारको उपचार राज्यले निःशुल्क गर्नुपर्नेमा जोड दिए ।
कर्माचार्य समाज कास्की र कर्माचार्य महिला समाज कास्कीद्धारा आयोजित मृगौला पीडित सहयोग प्रदान कार्यक्रममा चारवर्ष अघि मृगौला रोगकै कारण मृत्युवरण गरेकी क्ष्मीसुन्दरी कर्माचार्यको नाउँमा कर्माचार्य परिवारले अक्षयकोष स्थापना गरी प्रत्येक वर्ष आर्थिक रुपमा विपन्न मृगौला पीडितलाई एक लाख रुपैयाँका दरले आर्थिक सहयोग गर्दै आएको छ ।
