धाराखबर समाचारदाता
पोखरा, ६चैत । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिंदै हरेक वर्ष झैं यस वर्ष पनि पोखराको लेकसाइडमा २१ औं संस्करणको फेवा नव वर्ष महोत्सवको तयारी गरिएको छ ।
होटल संघ पोखरा नेपालले उक्त महोत्सव आयोजना गर्न लागेको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सवको तयारीका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको संयोजक सुवेदीले सुनाए ।
संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ र द्वितीय उपाध्यक्ष गणेशराज पहारीलाई महोत्सवको सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको जानकारी दिँदै सुवेदीले २९ चैतदेखि बैशाख १ गतेसम्म लेकसाइडको सडकमा यो महोत्सव संचालन गरिने बताए ।
जेनजी आन्दोलन र त्यसपछि सम्पन्न आम चुनावसँगै अबका दिनमा आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न महोत्सवले सघाउने विश्वास संघले लिएको छ । अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ वर्षलाई पनि भव्यताका साथ मनाउँदै फेवा तालको संरक्षणमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य महोत्सवको रहेको सुवेदीले जानकारी दिए ।
महोत्सवको आकर्षणको रुपमा विभिन्न स्वादका खाना पस्कनुको साथै दोहोरी तथा गीत संंगीतका कार्यक्रम, पप कन्सर्ट, नाचगान र अन्य मनोरञ्जनात्मक प्रस्तुतिहरु समेटिने छन् ।महोत्सवको उद्घाटन अघि झाँकीहरुको र्याली निकालिने बताइएको छ । महोत्सवको प्रचारका लागि यही चैत ९ गतेदेखि १३ गतेसम्म संघले पूर्वी नेपालका विभिन्न शहरमा जाउँ है पोखरा कार्यक्रम आयोजना गरी महोत्सवमा सहभागिताका लागि निमन्त्रणा प्रदान गर्न टोली त्यसतर्फ जाने संघको बैठकले निर्णय गरेको छ ।
