धाराखबर समाचारदाता
पोखरा, २१ माघ । नेपाली काँगे्रस क्षेत्र नं. ३ कास्कीले आफ्नो क्षेत्र भित्र पर्ने पोखरा महानगरपालिकाका विभिन्न वडा , माछापुच्छ्र्रे गाउँपालिका र अन्नपूर्ण गाउँपालिकामा प्रचार प्रसार कार्यालय उद्घाटन एवम् उम्मेद्वार सहितको घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी घरदैलो कार्यक्रमलाई तीव्रता दिएको हो ।
सोही अन्तर्गत पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोटमा नेपाली काँग्रेसको चुनावप्रचारप्रसार समितिको सम्पर्क कार्यालय उद्घाटनसहित घरदैलो कार्यक्रम गरिएको छ ।
कार्यलयको नेपाली काँगे्रसका केन्द्रीय सदस्य कृष्ण केसी, पुर्व सांसद शारदा पौडेल, कास्की काँग्रेसका उपसभापति एवम कास्की क्षेत्र नंम्बर ३ का निर्वाचन परिचालन समितिका संयोजक युवराज कुँवार र उम्मेदवार मनोज गुरुङले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्ण केसीले विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा बद्लिएर आएको नेपाली काँगे्रसले अब देश र जनताका अवस्थालाई नै बदल्ने संकल्पका साथ निर्वाचनमा होमिएको बताँउनु भयो । कास्की क्षेत्र नं.३ ले प्रत्यक्ष तर्फ मनोज गुरुङ र समानुपातिक तर्फ आइ बहादुर गुरुङ जस्ता इमानदार र सादगी नेता उम्मेद्वार पाएको बताउदै क्षेत्र नम्बर ३ का जनताले जिताएरै छाड्ने विश्वास ब्यक्त गर्नु भयो ।
कार्यक्रममा विगत ३५ वर्ष देखि कम्यूनिष्ट पार्टीमा लागेका समाजसेवी चक्रपाणि त्रिपाठी सहित टीकाराम भट्टराई, नवयुवा विजय अधिकारी, इन्दिरा त्रिपाठी लगाएत दर्जन वढी व्यक्ति नेपाली काँगेसमा प्रवेश गरेका छन्
पार्टी प्रवेश गरेका समाजसेवी चक्रपाणि त्रिपाठीले पटक पटक कम्यूनिष्ट पार्टीहरुले आफु र आफु जस्ता इमानदार कार्यकर्तालाई झुठा अस्वासन बाडेर देशलाई नै कंगाल बनाउन लागेको आरोप लगाउनु भयो । आफू लहड र भावनामा नभइ निकै सुजबुझ ढङ्गले नेपाली काँगे्रसमा प्रवेश गरेको बताउनुभयो ।
