धाराखबर समाचारदाता
पोखरा, १२ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमा कार्यक्रमको खर्च राज्यले धान्न नसक्ने अवस्थामा पुगेकाले यसमा तत्काल सुधारको खाँचो रहेको बताएकी छन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औँ स्थापना दिवस समारोहलाई माघ १२ गते सम्बोधन गर्दै उनले बिमामा भइरहेको दुरुपयोग नरोक्ने र मितव्ययिता नअपनाउने हो भने अब राज्यको क्षमताले नभ्याउने उल्लेख गरिन्। स्वास्थ्य बिमा गरेका आधारमा अनावश्यक जाँच तथा स्वास्थ्य सेवा उपभोग गर्ने प्रवृत्तिले राज्यलाई थप आर्थिक भार परेको र यसलाई व्यवस्थित बनाउनुपर्ने उनको भनाइ छ।
‘स्वास्थ्य बिमा कार्यक्रमका लागि यस वर्ष सरकारले ११ अर्ब रुपैयाँ विनियोजन गरेको थियो, तर त्यो बजेट सकिएर अर्को ११ अर्ब रुपैयाँ खर्च भइसकेको छ,’ मन्त्री गौतमले भनिन्। उनका अनुसार यो कार्यक्रम हुनेखाने र निरोगीले पनि कोषमा रकम जम्मा गर्ने र विपन्न बिरामीलाई उपचार दिने उद्देश्यले सञ्चालन गरिएको योगदानमा आधारित कार्यक्रम हो। तर अहिले धेरैजसो बिरामीले मात्र बिमा गर्ने, चाहिनेभन्दा बढी सेवा लिने र चिकित्सकले पनि अनावश्यक प्रयोगशाला जाँचहरू लेखिदिने समस्या देखिएकाले चुनौती थपिएको उनले बताइन्।
मन्त्री गौतमले अस्पतालको फार्मेसी र बिमाबाट दिइने औषधिको मूल्यमा एकरूपता हुनुपर्नेमा जोड दिइन्। यसैगरी सरकारी अस्पतालमा शय्या निःशुल्क रहेकाले त्यस्ता अस्पतालले बिमाबाट शोधभर्ना दाबी गर्न नहुने उनको तर्क छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासका लागि आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा मन्त्रालयले सक्दो पहल गर्ने प्रतिबद्धता उनले जनाइन्। कार्यक्रममा मन्त्री गौतमले प्रतिष्ठानको स्मारिका समेत विमोचन गरेकी थिइन्।
समारोहमा प्रतिष्ठानमा लामो समय सेवा गरेका कर्मचारी, प्राविधिक र चिकित्सकहरूलाई सम्मान गरिएको थियो। प्रतिष्ठानका उपकुलपति प्राडा भरत बहादुर खत्रीले सम्मानित हुनेहरूको नामावली सार्वजनिक गर्दै प्रतिष्ठानको प्रगतिबारे जानकारी दिएका थिए। १० वर्षको अवधिमा प्रतिष्ठानले गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पतालका रूपमा उल्लेख्य सेवा पुर्याएको सहभागीहरूको भनाइ थियो। मन्त्री गौतमले प्रतिष्ठानको सेवा प्रवाहलाई अझ जनमुखी र प्रभावकारी बनाउन निर्देशनसमेत दिएकी छन्।
