पोखरा,९ वैशाख । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न १६ ग्रामीण स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु गरेको छ । जुम्लाको सिँजा गाउँपालिकामा यही वैशाख ९ गते बुधबारदेखि सुरु भएको तालिम चालु आर्थिक वर्षभित्र थप १५ स्थानमा सञ्चालन गरिने बैंकले जनाएको छ ।
बैंकले कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका स्थानीय तहसँगको सहकार्यमा तालिम सञ्चालन गर्न लागेको हो । कृषिमा आधारित व्यवसाय सञ्चालन गरिरहेका र गर्न चाहने करिब पाँच सय व्यक्तिलाई लक्षित गरी तालिम सञ्चालन गर्न लागिएको बैंकको भनाइ छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले तालिममा सहभागीलाई बचत, बजेट निर्माण, ऋण व्यवस्थापन, बीमा, लगानीका विकल्पलगायतका विषयमा प्रयोगात्मक ज्ञान प्रदान गरिने बताए । “सहभागीहरुलाई वित्तीय साक्षरतामा सशक्त बनाउने, बेरोजगारी घटाउने, नयाँ व्यवसाय गर्न प्रोत्साहन गर्ने तथा उद्यमशीलता विकासमार्फत दिगो आर्थिक वृद्धि प्रवद्र्धन गर्न तालिम सञ्चालन गर्न लागिएको हो”, उनले बताए ।
बैंकले दिगो बैंकिङको अवधारणालाई आत्मसात गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ग्रामीण क्षेत्रमा रहेका व्यक्तिलाई आत्मनिर्भर बनाउन प्रोत्साहन गर्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागेको हो । तालिममा ग्रामीण भेगका किसानहरुको रुचि पहिचान गरी सोहीअनुरुप उनीहरुलाई आत्मनिर्भर बनाउन आवश्यक जानकारी र सिप उपलब्ध गराइनेछ ।
सहभागी हुनेले बाख्रापालन, बंगुरपालन, भैंसीपालन, च्याउ खेती, तरकारी खेती लगायतका विषयमा प्राविधिक ज्ञानका साथै व्यावसायिक अवसर पहिचान गर्ने, बजारीकरण तथा वित्तीय व्यवस्थापन लगायतका विषयमा ज्ञान र सिप प्राप्त गर्नेछन् ।
कार्यक्रमले दिगो बैंकिङको अवधारणालाई समेत अघि बढाउँदै वातावरणमैत्री, सामाजिक रूपमा जिम्मेवार तथा दीर्घकालीन आर्थिक लाभ दिने लगानीलाई प्राथमिकतामा राखेको जनाइएको छ ।
नबिल बैंक लिमिटेड नेपालको अग्रणी वाणिज्य बैंक हो। नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक काम गर्दै आएको छ । नबिल एसएसईमार्फत बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजनामार्फत दिगो विकासमा योगदान पुर्याउन आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ ।
]]>पोखरा,२८ चैत। राष्ट्रिय हेमजा आलु महोत्सवमा सहभागीको संख्या वढ्दो छ ।शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार दर्शक सहभागिता बढेको हो ।
शनिबार विदा परेको र मौसमले समेत साथ दिएसँगै जनसहभागिता बढ्दै गएको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए । शनिबार मात्रै करिव ८ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको तथ्याङ्क आयोजक संस्थाले दिएको छ ।
महोत्सव पुग्ने दर्शक अधिकाशंले कृषि स्टलमा चासो राख्ने गरेको पाइएको छ। किनकी महोत्सव प्रवेशसँगै त्यहाँ कृषि उपज तथा सामग्रीका स्टलहरु देख्न सकिन्छ । आलु महोत्सव भएकाले आलुको ज्ञान लिन आउने दर्शक संख्या पनि बाक्लै छ, । महोत्सव स्थलमा आलुको प्रजाति तथा अन्य विभिन्न तरकारीका वीउ विजन प्रदर्शनी गरिरहेको कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक सहायक बालकृष्ण भारतीले जानकारी दिए । त्यहाँ निर्देशनालयले २५ प्रजातिका आलु तथा ३७ प्रकारका अन्य तयारीका बीउ प्रदर्शनीमा राखेको छ ।
महोत्सव अन्तर्गत शनिबार कलाकारहरु शान्तारानी परियार, अनिल चापागाई, करिष्मा विसी, पूजा तामाङ, नेत्र खङ्का, परशुराम अधिकारी, सुनिल गायक, आयुषा खत्री तथा मुना अर्यालले प्रस्तुति राखेका थिए । महोत्सवमा आइतबार कलाकारहरु बद्री पंगेनी, ममता तामाङ, शान्ता वर्देवा, रोशन विसी, नेत्र खड्का, परशुराम अधिकारी, मुना अर्याल, आयुषा खत्री लगायतले दर्शकलाई मनोरञ्जन दिनुहुने मूल आयोजक समितिका महासचिव विकल थापाले जानकारी दिए । महोत्सव स्थलमा प्रतिकेजी रु.३५ मा आलुको कारोवार हुने गरेको छ।
]]>पोखरा,२७ चैत । “सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक” भन्ने नाराका साथ पोखरा–२५ को हेम्जामा राष्ट्रिय हेम्जा आलु महोत्सव सुरु भएको छ ।
यही चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म संचालन हुने उक्त आलु महोत्सवको आज (शुक्रबार) पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो । १४ औं संस्करणको उक्त महोत्सव स्थानीय विष्णुपादुका क्लवले आयोजना गरेको हो ।
प्रमुख आचार्यले कृषि उपजका नाममा महोत्सव हुनु आफैमा महत्वपूर्ण भएको उल्लेख गर्दै आलु महोत्सवले समग्र पोखरालाई नै ब्राण्डिङ गर्न सफल भएको बताउनुभयो ।
आलु महोत्सवलाई प्राथमिकता दिँदै महानगरले उक्त महोत्सव कार्यक्रमलाई रातो कितावमा समेटिएको सुनाउँदै प्रमुख आचार्यले हेम्जाको आलु सबै पोखरेलीले मन पराउने गरेको बताउनुभयो । साथै आचार्यले हेम्जामा व्यवसायिक कृषिका लागि महानगरले बजेट विनियोजन गर्दै आएको र अबका वर्षमा त्यसलाई वृद्धि गरिने आश्वासन दिनुभयो ।
पोखरा महानगरपालिका प्रवक्ता एवं वडा नं २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले महानगर किसानको पक्षमा रहेको बताउँदै आलु महोत्सव हेमजावासीको चाड भएको उल्लेख गर्नुभयो । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले महोत्सवले कृषिमा आत्मनिर्भर हुनुपर्ने संदेश दिएको उल्लेख गर्दै महानगर कृषि, पर्यटन तथा व्यापार मार्फत स्थानीयको जीवनस्तर उठाउन लागि परेको भनाइ राख्नुभयो ।
मूल समारोह समितिका अध्यक्ष वसन्तकुमार श्रेष्ठले सरोकारवालाको साथ सहयोगमा आलु महोत्सवलाई निरन्तरता दिन पाएकोमा खुशी व्यक्त गर्दै महोत्सव मार्फत पोखरामा कृषि पर्यटक बृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयो। महोत्सव सुरु हुनुपूर्व हेमजास्थित विष्णुपादुका माईस्थानबाट बाजागाजासहित कृषि झाँकी र्याली निकालिएको थियो ।
महोत्सव अन्तर्गत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, वोट विरुवा, परीक्षण तथा रोग निधान, कृषक र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम रहने बताइएको छ ।
महोत्सवमा आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य सय वटा व्यापारिक स्टल छन् । महोत्सव प्रवेशका लागि साधारणतर्फ रु.१ सय रुपैयाँ तथा विद्यार्थीलाई परिचयपत्रका आधारमा ५० रुपैयाँमा टिकटको व्यवस्था गरिएको जनाइएको छ । महोत्सव स्थलमा प्रतिकेजी आलुको मूल्य रु ३५ रुपैयाँ कायम गरिएको छ ।
]]>पोखरा, ९ चैत । पोखरामा चैत दोस्रो सातादेखि वाडा अटो शो हुने भएको छ । पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसियसन (वाडा)को आयोजनामा यहि चैत ११ गतेदेखि १५ गतेसम्म पोखरामा ‘दोस्रो वाडा अटो सो’ हुने सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । नाडा अटोमोवाइल एशोसियसन अफ नेपालको प्रस्तुतीमा हुने वाडा अटो सो पर्यटकीय केन्द्र पोखराको लेकसाइडस्थित तालबाराही चोक स्थित खेल मैदानमा हुने वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाले जानकारी दिए ।
वाडा अटो शो मा २० वटा स्टलहरु रहने आयोजकले जनाएको छ । जहाँ १६ ब्राण्डका चार पाङग्रे, ६ वटा ब्राण्डका लाइट कमर्सियल, १० वटा ब्राण्डका २ पाङग्रे, एउटा हेभी कमर्सियललगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण र अन्य एसेसरिजहरुका स्टल रहने अध्यक्ष कोइरालाले बताए । उनका अनुसार अटो सो एम्पेयर, एथर, अक्वेल, बिवाईडी, चेरी, वान्डा, चेतक, दीपाल, डोन्फेङ, फर्थिङ, ग्यारो, हुण्डाई, कामा, किया, लिप मोटर, म्याक्सस, एसएमएल ईसुजु, सुजुकी, टाटा, टिभिएस, एक्सप्रेस–टी, यामाहा, जोन्टेसलगायतका प्रख्यात ब्राण्डका सवारीहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन् ।
अटो सो को अवसरमा कम्पनीहरुले विशेष छुट दिने जनाइएको छ । अटो सो मा प्रत्येक कम्पनीले ५० हजारदेखि एक लाखसम्म छुट दिने वाडाका महासचिव विनय थापाले जानकारी दिए । ‘त्यसबाहेक अन्य एसेसरिज, वीमालगायत पनि छुट दिइनेछ’–उनले भने ।अटो सोको अवसरमा भिन्टेज कार प्रदर्शनीमा राखिने जनाइएको छ । बतास ब्रदर्सका सञ्चालक आनन्दराज बतासको विशेष सहयोगमा ४० वर्ष पुराना करीब १० वटा गाडीहरु प्रदर्शनीमा राखिने अध्यक्ष कोइरालाले बताए । त्यसबाहेक रोवोट प्रदर्शनीलगायत पनि अटो सो को आकर्षणका रुपमा रहने उनको भनाई छ । ‘अत्याधुनिक प्रविधि विकास एवम् नवप्रवर्तनसँग आम सर्वसाधारणलाई साक्षात्कार गराउनका लागि रोबोटहरु पनि प्रर्दशनमा राखिनेछ’–उनले भने । उनका अनुसार युनी ट्री जि वान ह्युमानोइड रोबोट, युनीट्री गो टु, चंखे जस्ता आकर्षक रोबोटहरु प्रर्दशनमा राखिनेछ ।
अटो व्यवसायीलाई एउटै छाना मुनि भेला गराई सहज व्यवसायीक वातावरण निर्माण गर्दै आन्तरिक पर्यटनमा टेवा पुर्याउन अटो शोको उद्देश्यले अटो सो आयोजना गरिएको वाडाका बरिष्ठ उपाध्यक्ष शिव श्रेष्ठले जानकारी दिए । वाडा अटो सोपछि अटोमोवाइल क्षेत्रको बिक्री बढ्ने अपेक्षा गरिएको उनले बताए ।
५ दिनसम्म चल्ने अटो शोमा ४५ हजार मानिसहरुले अवलोकन गर्ने वाडाका उपाध्यक्ष निरन केसीले बताए । वाडा अटो सो मा प्रवेशका लागि एक सय रुपैयाँको टिकट काट्नुपर्नेछ भने विद्यार्थीलाई ५० प्रतिशत सहुलियत छुट दिईने उनले बताए ।
पछिल्लो समय अटोमोवाइल क्षेत्रमा डिजेल, पेट्रोलबाट चल्ने सवारी साधनभन्दा विद्युतीय सवारी साधनको बिक्री बढी हुने गरेको उपाध्यक्ष केसीले जानकारी दिए । उनका अनुसार झण्डै ७५ प्रतिशत विद्युतीय सवारी साधनको बिक्रीहुँदा २५ प्रतिशतमात्रै डिजेल, पेट्रोलबाट चल्ने सवारी साधन बिक्री हुने गरेको छ । उनले गण्डकी प्रदेश र त्यसको राजधानी पोखरामा मात्रै अर्बौंको लगानी अटोमोवाइल क्षेत्रमा रहेको बताए । यस क्षेत्रले सो रुममा मात्र हाल करीब ४ हजार रोजगारी प्रत्यक्ष रुपमा दिएको र अटोमोवाइल मेकानिक्सको क्षेत्रमा त्योभन्दा बढी रोजगारी सिर्जना गरेको उनले दाबी गरे ।
]]>पोखरा, ६ चैत । पोखरामा तरकारीको कचौराको रुपमा चिनिएको पोखरा–२५ को हेमजामा १४ औं संस्करणको आलु महोत्सव गजरिने भएको छ ।
आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म हेम्जाको विष्णु पादुका खेल मैदानमा उक्त महोत्सव गर्न लागिएको हो ।
“हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाऊँ, भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको छ । स्थानीय किसानहरुको भेलाले वसन्त कुमार श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।समिति सहसंयोजकमा मिना कुँवर महासचिवमा विकल थापा, सचिवमा विपीन पौडेल तथा कोषाध्यक्षमा डम्बरबहादुर कुँवर रहेका छन् ।
भेलाले विभिन्न उपसमिति पनि गठन गरेको छ । अर्थ सङ्कलन उपसमिति संयोजकमा राजेन्द्र तिम्सिना, स्टल रेस्टुरेन्ट उपसमिति संयोजकमा कुमार श्रेष्ठ, आमा समूह परिचालन उपसमिति संयोजकमा अप्सरा तिम्सिना, अतिथि सत्कार उपसमिति संयोजकमा पार्वती थापा, सांस्कृतिक उपसमिति संयोजकमा सुशील श्रेष्ठ, सुरक्षा व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी इन्द्र थापालाई दिइएको छ ।
भेलाले प्रचारप्रसार उपसमितिमा निराजन अधिकारी ,पानी बिजुली उपसमिति संयोजकमा केशव गिरी, यातायात तथा पार्किङ उपसमिति संयोजकमा भुवन क्षेत्री, बैङ्क तथा वित्तीय सङ्घसंस्था समन्वय उपसमिति संयोजकमा कृष्ण पौडेल, स्वयंसेवक परिचालनमा सागर कुँवर, झाँकी र्याली व्यवस्थापनमा उमा भुर्तेल पौडेल, कृषि परिचालन उपसमिति अर्जुन कार्की, कृषि प्रविधि कृष्ण तिम्सिना र सरसफाइ परिचालन तर्फ सुर्य थापाले जिम्मेवारी पाएका छन् ।
यहाँको क्लव तथा किसानहरुले २०६६ सालदेखि वार्षिक रूपमा उक्त महोत्सव आयोजना गर्दै आएका छन् । महोत्सवको पहिलो संस्करण स्थानीय बहुउद्देश्यीय किसान सहकारी संस्थाले, दोस्रो संस्करण तत्कालीन हेमजा गाविसले तथा तेस्रो संस्करणदेखि लगातार विष्णु पादुका क्लबले आयोजना गर्दै आएको छ ।
]]>पोखरा, १ चैत्र । उपभोक्ता अधिकारका बारेमा आम नागरिकलाई सचेत गराउने उद्देश्यले आज(आइतबार) पोखरामा विश्व उपभोक्ता अधिकार दिवस २०८२ मनाएको छ ।
गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयको आयोजना एवं उपभोक्ता मञ्च गण्डकी प्रदेशको समन्वयमा अन्तरक्रियात्मक कार्यक्रम गरी उक्त दिवस मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश उद्योग तथा पर्यटक मन्त्रालयका सचिव मोतिराम सापकोटाले आम उपभोक्ता सचेत भएमात्र बस्तु तथा सेवा गुणस्तरीय भएनभएको थाहा पाउन सक्ने बताउनुभयो ।
मन्त्रालय र उपभोक्तावादी संस्थाले बस्तु, सेवा र वौद्धिक सम्पतिको व्यापारले आम उपभोक्ता ठगिएका छन् कि छैनन् भन्ने बारेमा सम्बन्धीत निकायले अनुगमन कार्यलाई निरन्तरता दिन आवश्यक भएको औंल्याए । नेपालमा राजनीतिक संरक्षणमा नै भ्रष्टाचार र कालोबजारी वढ्ने गरेको आरोप उहाँको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी तित्राङ्गत बरालले हामीले बस्तु र सेवा गुणस्तरीय दिन सक्यौ भने विदेशी पर्यटकहरु समेत ढुक्क भएर नेपाल आउने भनाइ राख्दै कानून विपरीत कुनैपनि बस्तु तथा सेवा संचालन गरिन्छ भने त्यस्ता व्यापारी तथा संस्थालाई कानूनी कारवाहीको दायरामा ल्याउने चेताबनी दिनुभयो ।
बजारमा एलपी ग्यास र पेट्रोलियम पदार्थको कृत्रिम अभाव देखाएर कालोबजारी गरेको फेला परेमा त्यस्ता व्यापारीलाई कडा कारवाही गर्ने चेतावनी दिँदै उहाँले मानव स्वास्थ्य नै विग्रने गरी खाद्य पदार्थमा अखाद्य बस्तु मिसावट गरिन्छ भने त्यस्ता व्यापारीलाई प्रशासनले कडा कारवाही गर्ने बताउनुभयो ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमले निजी उद्योगलाई बचाउँदै उनीहरुले प्रदान गर्ने गुणस्तरीयतामा सुधार गर्दै लैजानु पर्नेमा जोड दिनुभयो । लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विक्रम कर्मचार्यले व्यवसायी सधै उपभोक्तालाई कसरी गुणस्तरीय सेवा दिने भन्ने चिन्तामा मात्र लागिरहने दावी गर्नुभयो ।
सो अवसरमा उपभोक्ता मञ्च गण्डकीमा अध्यक्ष कपिलनाथ कोइराला र गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका महराज ढकालले उपभोक्ता अधिकार र कानूनी प्रावधानका बारेमा आधारपत्र प्रस्तुत गरेका थिए ।
सो अवसरमा उपभोक्ताको तर्फबाट तारानाथ पहारी, मिना रानाभाट, अस्मीता त्रिपाठी, कमल पौडेल, रमेश पौडेल लगायतले उपभोक्ता अधिकारका बारेमा आम नागरिकको चासो कम हुने गरेको बताए । उक्त कार्यक्रममा स्वागत मन्तव्य उपभोक्त मञ्च गण्डकीका उपाध्यक्ष रमेत पौडेल र धन्यवाद उपभोक्ता मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगलले गरेका थिए ।
]]>पोखरा, २८ फागुन । नेपाल आयल निगमले भोलिदेखि बजारमा आधा सिलिन्डर मात्रै ग्यास पठाउने निर्णय गरेको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास किन्न पाउनेछन् । आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको भन्दा आधा नै तोकिएको छ ।
अन्तर्राष्ट्रियस्तरमा भइरहेको युद्धका कारण बजारमा ग्यास माग बढेको र आपूर्तिमा केही समस्या देखिएकाले त्यसलाई सामान्य बनाउन निगमले यस्तो कदम चालेको उनले बताए । भट्टले आधा सिलिन्डर ग्यास बाँड्दा धेरैभन्दा धेरै उपभोक्ताको पहुँचमा ग्यास पुग्ने दाबी गरे । उनका अनुसार पहिले १ हजार जनाले ग्यास पाउने ठाउँमा अब २ हजार जनाले ग्यास पाउनेछन् ।
यसका साथै आधा सिलिन्डर मात्रै वितरण गर्दा अनावश्यक रूपमा ग्यास थुपारेर राख्ने (स्टक गर्ने) प्रवृत्ति पनि घट्ने निगमको दाबी छ । ‘आधा सिलिन्डर कसैले पनि स्टक गरेर राख्दैन, जसलाई साँच्चिकै समस्या परेको छ उसले मात्रै किन्छ,’ कार्यकारी निर्देशक भट्टले भने ।यो निर्णयले बजारमा देखिएको ग्यास अभाव हट्ने र उपभोक्ताले सजिलै ग्यास पाउने निगमको दाबी छ ।
]]>
पोखरा, ४ माघ । पोखराको अमरसिंह खेल मैदानमा जारी पोखरा महोत्सवमा दर्शकका लागि विभिन्न अफर रहेको छ । महोत्सवमा आउने दर्शकहरुका लागि मुख्य प्रायोजक र प्रायोजकहरु संगै महोत्सव आयोजक युनाइटेड क्लबले मुक्तिनाथ दर्शनका लागि २५ सय रुपैयाँमा दुईतर्फी यात्राको अफर ल्याएको छ ।
महोत्सवको मुख्य प्रायोजकको रुपमा रहेको बेटर होम एपलायन्सको स्टलबाट एक हजारको सामान खरिद गर्दा पाउने कुपनको माध्यामबाट तीनजना भाग्यशाली उपभोक्तालाई बेटरले विभिन्न उत्कृष्ट पुरस्कार प्रदान गर्ने भएको छ । जस अन्तर्गत बेटरले भाग्यशाली उपभोक्तालाई प्रथम पुरस्कारको रुपमा एक टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई १५ लिटरको भिक्ट्री वाटर डिस्पेन्सर, मोनाको गिजर, तेस्रो भाग्यशाली उपभोक्तालाई बेटर ब्रेथ ९० ग्लासहुड चिम्नी, चौथौ भाग्यशाली उपभोक्तलाई रेडियान्स भ्याकुम क्लिनर र कन्सोलेशन प्राइजमा एमिनेट एयर फायर प्राप्त गर्ने महोत्सवका प्रायोजक उपसमिति संयोजक सूर्यबहादुर बानियाँले जानकारी दिए ।
भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिने छ । महोत्सवको अवधिभर मुक्तिनाथ दर्शनका लागि पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी संगको सहकार्यमा २५ सय रुपैयामा दुई तर्फी यात्राको ब्यवस्था मिलाइएको छ । महोत्सवको सचिवालयमा नाम टिपाएका दर्शकलाई दैनिक इभी मार्फत पोखरा मुक्तिनाथ र मुक्तिनाथ पोखरा दुईतफी यात्रा २५ सय रुपैयामा यात्रा गराउनुका साथै निशुल्क शाकाहारी खाना र खाजाको ब्यवस्था गरिएको महोत्सवका अतिरिक्त ब्यवस्थापन उपसमिति संयोजक गणेश खड्काले जानकारी दिए ।
महोत्सवको प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रा.लि.ले पोखरा महोत्सवमा प्रत्येक दिन ५ जना भाग्यशालीलाई केबलकारको फ्रि टिकट प्रदान गरिरहेको छभने महोत्सवको प्रायोजक भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रा.लि.ले महोत्सवमा राखिएको स्टलबाट भर्ना भएका विद्यार्थीहरुलाई भाषा कक्षामा ५० प्रतिशत छुट र गिफ्ट ह्याम्पर संगै गोलाप्रथाको माध्यमबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर प्रदान गरिरहेको छ ।
ग्रुमिङ पार्टनरमा रहेको बबि ब्यूटी सलुन एण्ड ट्रेनिङ सेन्टरले महोत्सव अवधिभर महोत्सवको टिकट लिएर ब्यूटिसियन कोर्स तथा सर्भिस लिन आउने विद्यार्थी तथा ग्राहकहरुलाई ३० प्रतिशत छुट र फुड पार्टनरमा रहेको पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउनेछन ।
महोत्सवमा कान्तिपुर डेण्टल हस्पिटलले दैनिक निःशुल्क दातको स्क्रीनिङ गरिरहेको छ । महोत्सवमा आयोजना हुने टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई आशिष इन्स्टीच्युट प्रालिको तर्फबाट नगद २५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन । महोत्सवको टिकट अनलाईन बाट रेभल एप मार्फत समेत बुकिङ गर्न सक्ने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
त्यसैगरी महोत्सवको एप पार्टनर वीपोखराको एप महोत्सव अवधिर ३० हजार डाउनलोडर पुगे ३० हजार मध्येबाट एकजनालाई आइफोन सेभेन्टिन प्रो प्रदान गरिने छ ।
महोत्सवमा आइतबारदेखि छेलो प्रतियोगिता शुरु भएको छभने गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनामा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता समेत आइतबार देखिनै शुरु भएको छ । आइतबार विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा पोखरा स्पाइरल, सिद्ध मावि र ज्ञानगंगा स्कुलले आफ्नो प्रस्तुती राखेभने सोमबार सेन्ट मेरिज, अन्जुली बोर्डिङ स्कुल र विभूती शिक्षा सदनको प्रस्तुती रहने प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।
महोत्सवको छैठौ दिन समीक्षा अधिकारीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । अधिकारी संगै लोकदोहोरी कलाकारहरु राजन कार्की, चोलेन्द्र पौडेल, माया गुरुङ, शिव शर्मा, कमला गैह्रे, अनिल चापागाईं लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए ।
साँझको लाइभ कन्सर्टमा दुर्गेश थापाको प्रस्तुतीमा युवाहरु झुमे । महोत्सवको सातौं दिन सोमबार लोकदोहोरी तर्फ अर्जुन सापकोटा, चोलेन्द्र पौडेल, रामजी पौडेल, सरीता सारु मगर, केशव घिमिरे, रमा राना, आयुष परियार, मिलन दुलाल लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ कन्सर्टमा लेकाली ब्याण्डको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
]]>पोखरा, ४ माघ । तराई र भारत लगायतका देशबाट आएको तरबुजा उपभोग गर्दै आएका पोखरेली उपभोक्ताले दुई वर्षदेखि आफ्नै माटोमा फलेको स्वादिलो तरबुजा खान पाउँदा मख्ख छन् ।
तरबुजा पहाडी क्षेत्रमा पनि राम्रो फल्छ भन्ने कुरा चरितार्थ पार्न सफल बनेका छन् यहाँका किसान । अघिल्लो वर्ष पोखरा–१३ ढाँडबेँसी र पोखरा –३३ सुरौदी खोला किनाराको तिखेढुङ्गाका फाँटमा तरबुजा लटरम्म फलेपछि यहाँका किसनहरु व्यवसायिक तरबुजा खेतीमा आकर्षित बनेका छन् ।
गत वर्ष व्यवसायिक र अन्य गरी ७० जना किसानले तरबुजा खेती गर्दै आएकोमा यस वर्ष एक सय ६० जनाले तरबुजा खेती गर्न इच्छा जनाएका छन् । अधिकाशं व्यवसायिक रुपमा तरबुजा खेती गर्ने तयारी गरिरहेको पोखरा महानगरपालिका कृषि विकास महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो ।
अघिल्लो वर्ष कास्कीको दुई सय रोपनीमा दुई करोड रुपैयाँ बराबरको तरबुजा उत्पादन भएको र यस वर्ष व्यवसायिक रुपमा थप किसानलाई तरबुजा खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले अनुदानमा सरस्वती जातको तरबुजाको बीउ र मलचिङ वितरण गर्दै आएको जानकारी कडरियाले दिनुभयो ।
“हामीले लगाएको तरबुजा अघिल्लो वर्ष लटरम्म फल्यो, तीन हजार पाँच सय किलोग्राम तरबुजा उत्पादन गर्यौ ।” सुरौदीको तिखे ढुङ्गामा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले भन्नुभयो ।
आचार्य र कार्कीले संयुक्त रूपमा गरेको तरबुजा खेती होस् वा आर्वाको ढाँडबेँसीमा इन्जिनियर विक्रम बरालसहित युवा रवि, अर्जुन, मनिशले लगाएको तरबुजा यतिखेर रोजगारीकै खोजीमा विदेशिएका युवाका लागि पनि दरिलो पाठ बनेको छ ।
अघिल्लो वर्ष आर्वाको ढाँडबँेसी फाँटमा १५ रोपनी क्षेत्रफलमा गरिएको तरबुजा खेतीबाट १५ लाख रूपैयाँ आम्दानी गरेको कृषक श्रीधर बरालले सुनाउनुभयो । पोखरा महानगरपालिका–३३ सुरौदी फाँटको तिखेढुुङ्गाका अगुवा कृषकद्वय ज्ञानबहादुर कार्की र रमेश आचार्यले ३५ रोपनी क्षेत्रफलमा तरबुजा खेती गर्दै आएकोमा यस वर्ष अझ वढी क्षेत्रफलमा लगाउने तयारी गरेका छन् ।
यहाँमा किसानले सरस्वती, रेड भेलरेट, फनेक्स, मान्ठाना र राजा जातका तरबुजा फलाएका छन् । पोखरा–१३ पाटनवेशीका बुद्धप्रसाद बरालले तीन रोपनी क्षेत्रफलमा तरबुजा लगाएकोमा झण्डै ६०० किलोग्राम बिक्री गरेका थिए ।
महानगरपालिका–१३, २१ , २३, ३०, ३२ र ३३ मा यस खेतीतर्फ आकर्षण बढिरहेको जानकारी प्रमुख कडरियाले दिनुभयो । स्थानीय रूपमा उत्पादित तरबुजाको स्वाद पनि निकै मीठो रहेको उहाँले बताउनुभयो ।
अघिल्लो वर्ष पोखरामा करिब ४०० टन (लगभग दुई करोड रूपैयाँ बराबर)को तरबुजा उत्पादन भएको उहाँको दावी छ । महानगरपालिकाले पोखरामा उत्पादित सरस्वती जातको खरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि स्टिकर तयार गरेको कडरियाले जानकारी उहाँले दिनुभयो ।
यहाँका किसानलाई प्रोत्साहन गर्न महानगरपालिमकाले शुक्रबार मात्र सात लाख बराबरको तरबुजाको बीउ र मmचिङ बितरण गरेको छ । माघ महिनामा लगाइएको तरबुजा जेठ असार महनिामा खान या्ेग्य हुन्छ । अघिल्लो वर्ष पोखरा–३३ सुरौदीको तिखेढुङ्गमा लगाइएको तरबुजा एउटैको सात किलो ८६० ग्राम तौलको पाइएको थियो ।
प्रदर्शनीमा कृषि फर्म तथा व्यक्तिगत रूपमा तरबुजा खेती गर्नेहरूका उत्पादनलाई तौल गरिएकोमा रमेश आचार्य र ज्ञानबहादुर कार्कीले तिखेढुङ्गामा लगाएको तरबुजा सबैभन्दा बढी तौलको प्रमाणित गरिएको हो । मेलाका अवसरमा ठूलो तौलको फलाएवापत उनीहरूलाई पाँच हजार रूपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो ।
यस वर्ष यहाँका किसानले तीन चार रोपनी देखि २५ रोपनीसम्म तरबुजा खेती गर्ने तयारी गरेका छन् । अघिल्लो वर्ष तरबुजाको ममूल्य प्रतिकेजी ५० रुपैयाँमा बिक्री भएको थियो ।
]]>
पोखरा, २९ पुस । नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद लाभांश पारित गरेको छ ।
सोमबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको हो ।
साधारणसभाले संस्थापक शेयरधनीतर्फबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्ने एक सञ्चालक पदमा अनिल केशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ ।
साथै, बैंकको आजै बसेको सञ्चालक समितिको ६९९औँ बैठकले बैंक सञ्चालक समितिको अध्यक्षमा सञ्चालक निर्वाण कुमार चौधरीलाई चयन गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकबाट सपथ ग्रहण पश्चात उनले अध्यक्षको कार्यभार सम्हाल्नेछन् ।
यसैैसाथ, निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले सफलतापूर्वक आफ्नो दुई कार्यकाल सम्पन्न गरेको समेत बैंकले जनाएको छ । उनको नेतृत्वमा बैंकले दिगो बैंकिङमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । उनले विशेष गरी टिम निर्माण, डिजिटल रूपान्तरणको सुदृढीकरण, दिगो बैंकिङ, नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसीप (नबिल एसएसई)का साथै मर्जर सफल बनाउनका लागि समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
चालु आर्थिक वर्ष २०८२/८३ मा बैंकले रु ५ अर्ब (प्रतिकित्ता अंकित मूल्य रु १०० का दरले ५ करोड कित्ता) बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ नयाँ पुँजी उपकरण जारी गरेको छ । उक्त उपकरण जारी गरेपश्चात अतिरिक्त प्राथमिक पुँजीका माध्यमबाट पुँजीगत आधार बलियो भई बैंकको जोखिम वहन गर्ने क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने बैकले विश्वास लिएको छ ।
नबिलले देशभर २६८ शाखा सञ्जालसहित ३२१ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सँगै अघि बढ्ने विश्वास राखेको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।
नबिल बैंकले साधारणसभा समयमै सम्पन्न गर्न सहयोग गर्ने शेयरधनी, नियामक निकाय, ग्राहक वर्ग, बैंकका कर्मचारी र अन्य सम्बद्ध निकायहरूप्रति आभार व्यक्त गरेको छ ।
]]>