काँग्रेसलाई एक ढिक्का बनाएर लान देउवासमुह सहमत

प्रदेश समाचार मुख्य समाचार राजनीति

धाराखबर समाचारदाता

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टी एकता र मजबुतका लागि सहमतिमूलक र सम्मानजनक ढङ्गबाट अघि बढ्नुपर्ने बताएका छन्। देउवा निकट नेताहरूको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले व्यक्ति होइन, संस्था बलियो हुनुपर्ने बताएका हुन् ।

पार्टीभित्रको आधिकारिकताको विषयमा असन्तुष्टि कायमै रहेको उल्लेख गर्दै कानुनी रूपमा निर्णय भइसके पनि राजनीतिक रूपमा समस्या अझै कायम रहेको बताए । विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वप्रति सबैको स्वामित्व नभएको उनको भनाइ छ ।

उनले संस्थापन पक्षसँग आगामी १५औँ महाधिवेशनलाई सहमतिमार्फत सम्पन्न गर्न साझा संयन्त्र गठन गर्नुपर्ने प्रस्ताव अघि सारे । उनले भने, ‘दुवै पक्षको सहमतिमा बनेको संयन्त्रले महाधिवेशन सम्पन्न गर्‍यो भने त्यसबाट चयन हुने नेतृत्वमा सबैको स्वामित्व स्थापित हुन्छ।’

हालको केन्द्रीय समितिका निर्णयहरू एकपक्षीय रूपमा भएको जिकिर गर्दै विशेष महाधिवेशनमा सबै पक्षको सहभागिता नभएको बताए । उनले भने, ‘महाधिवेशनमा ठूलो तप्का सहभागी नभएकाले अहिलेको निर्णयहरूमा सबैको अपनत्व छैन । विगतमा सहमतिका आधारमा निर्णय गर्ने परम्परा थियो। पहिले सानो विषयमा पनि असहमति भए छलफल गरेर सहमतिमा पुग्ने अभ्यास थियो ।’

पार्टी एकताको आवश्यकता औँल्याउँदै त्यसका लागि ठोस प्रस्ताव आउनुपर्ने बताए । उनले पूर्वकेन्द्रीय सदस्यहरूको बैठक बस्ने र त्यसपछि बृहत्तर छलफलमार्फत् साझा धारणा बनाउन प्रयास गरिने जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *