मानव सेजा आश्रममा महायज्ञ गरिने

खेलकुद


धाराखबर समाचारदाता

पोखरा, २३ चैत । पोखरा–२५ हेम्जाको बाबियातहरामा अवस्थित मानवसेवा आश्रमले आगामी वैशाख १९ गतेदेखि २६ गतेसम्म श्रीमद् भागवत् सप्ताह पितृ उद्दार ज्ञानविज्ञान महायज्ञ गर्ने भएको छ । आश्रमले सोमबार पत्रकार सम्मेलन मार्फत श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८३ का बारेमा जानकारी दिएको हो ।

महायज्ञबाट संकलित दान रकमबाट आश्रमले हेम्जा शाखाको भवन निर्माण सम्पन्नता, लक्ष्मीनारायण मन्दिर निर्माण,मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षयकोष वृद्धिका लागि खर्च गर्ने महायज्ञ मूल समारोह समितिका संयोजक अनिलकुमार शाहीले जानकारी दिए । महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले कथा वाचन गर्ने छन् ।

महायज्ञ अवधिभर कथा वाचनसँगै विविध सांस्कृतिक र धार्मिक कार्यक्रमहरू पनि आयोजना गरिने जानकारी सो अवसरमा दिइएको छ । आश्रमले महायज्ञ आयोजना गर्नुको मुख्य उद्देश्य आर्थिक संकलन मात्र नभइ धर्म, संस्कार, सामाजिक सेवा र मानवताको सन्देश प्रवाह गर्नु रहेको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।

वि.स.२०६८ साल भाद्र १३ गते मानवसेवा आश्रमले मकवानपुरको हेटौंडाबाट मानवीय सेवा सुरुवात गरेको जानकारी दिँदै अधिकारीले अहिले देशैभरि २२ जिल्लामा २९ वटा सेवा केन्द्र संचालनमा रहेका र ति केन्द्रमा दुई हजार एक सय जना सहयोगापेक्षी र पोखरा सेवा केन्द्रमा मात्र २ सय ७५ जना सहयोगापेक्षी संरक्षणमा रहेको कुरा सुनाउनुभयो ।

मानवसेवा आश्रम देशभरबाट सहयोगापेक्षी सडकआश्रित मानिसहरूको उद्धार गरी उपचार, पालनपोषण र पारिवारिक पुनर्मिलन गर्दै आएको छ । आश्रम व्यवस्थापनका लागि समय–समयमा आश्रमको पूर्वाधार निर्माण, सेवा विस्तार र अक्षयकोष वृद्धिका लागि बेलाबेलामा महायज्ञ आयोजना गर्दै आइएको जानकारी पनि अधिकारीले दिनुभयो ।

महायज्ञ शुभारम्भका दिन बाजागाजा, सांस्कृतिक झाँकी, शंखनाद, भजन, कीर्तनसहित शोभा कलश यात्रा गरिनुको साथै योग शिविर समेत संचालन गरिने छ । महायज्ञ अवधिभर निःशुल्क स्वास्थ्य शिविर, भजन कृतन, गीत, संगीत, देव लीला, पञ्चायन पूजा, पितृ उद्धार, तुलादान, ग्रहशान्ति ८४ पूजा जप, पाठ, परायण आदिका आर्मिक अनुष्ठानका सेवाहरु महायज्ञको समयमा गरिने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।

सडकपेटी तथा चिसो सिंढीबाट असहायहरुको उद्धार गरी सहयोगापेक्षीलाई आश्रमसम्म पुर्‍याउने र वि.स. २०८३ साल भित्रमा नेपाल राष्ट्रलाई तीनै तहको सरकारको सहभागिता र अभिभावकत्वमा सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राट्र घोषणा गर्ने र पूर्ण कार्यान्वयन गर्ने लक्ष्यका साथ आश्रम अगाडि वढेको जानकारी अध्यक्ष अधिकारीले दिनुभयो ।

महायज्ञ मूल समारोह समिति सह–संयोजक (यज्ञ सारथीमा) धर्मराज बास्तोला, सचिवमा पदम बहादुर के.सी, सहसचिवमा भीम श्रेष्ठ, कोषाध्यक्षमा मिना कुँवर र सह–कोषाध्यक्षमा रुद्रनाथ पौडेललाई चयन गरिएको छ । हेम्जाको बाबियातहरा स्थित आश्रममा रहेका आश्रित २ सय ७५ जनाको लागि मासिक ३० लाख रुपैयाँ खर्च लाग्ने गरेको जानकारी पनि सो अवसरमा दिइएको थियो । बाबियातहरामा निभिन्न संघ संस्था र नेपाल सरकारको सहयोगमा ८ करोडको लागितमा आश्रम निर्माण सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *