धाराखबर समाचारदाता
पोखरा, १ चैत्र । उपभोक्ता अधिकारका बारेमा आम नागरिकलाई सचेत गराउने उद्देश्यले आज(आइतबार) पोखरामा विश्व उपभोक्ता अधिकार दिवस २०८२ मनाएको छ ।
गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयको आयोजना एवं उपभोक्ता मञ्च गण्डकी प्रदेशको समन्वयमा अन्तरक्रियात्मक कार्यक्रम गरी उक्त दिवस मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश उद्योग तथा पर्यटक मन्त्रालयका सचिव मोतिराम सापकोटाले आम उपभोक्ता सचेत भएमात्र बस्तु तथा सेवा गुणस्तरीय भएनभएको थाहा पाउन सक्ने बताउनुभयो ।
मन्त्रालय र उपभोक्तावादी संस्थाले बस्तु, सेवा र वौद्धिक सम्पतिको व्यापारले आम उपभोक्ता ठगिएका छन् कि छैनन् भन्ने बारेमा सम्बन्धीत निकायले अनुगमन कार्यलाई निरन्तरता दिन आवश्यक भएको औंल्याए । नेपालमा राजनीतिक संरक्षणमा नै भ्रष्टाचार र कालोबजारी वढ्ने गरेको आरोप उहाँको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी तित्राङ्गत बरालले हामीले बस्तु र सेवा गुणस्तरीय दिन सक्यौ भने विदेशी पर्यटकहरु समेत ढुक्क भएर नेपाल आउने भनाइ राख्दै कानून विपरीत कुनैपनि बस्तु तथा सेवा संचालन गरिन्छ भने त्यस्ता व्यापारी तथा संस्थालाई कानूनी कारवाहीको दायरामा ल्याउने चेताबनी दिनुभयो ।
बजारमा एलपी ग्यास र पेट्रोलियम पदार्थको कृत्रिम अभाव देखाएर कालोबजारी गरेको फेला परेमा त्यस्ता व्यापारीलाई कडा कारवाही गर्ने चेतावनी दिँदै उहाँले मानव स्वास्थ्य नै विग्रने गरी खाद्य पदार्थमा अखाद्य बस्तु मिसावट गरिन्छ भने त्यस्ता व्यापारीलाई प्रशासनले कडा कारवाही गर्ने बताउनुभयो ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमले निजी उद्योगलाई बचाउँदै उनीहरुले प्रदान गर्ने गुणस्तरीयतामा सुधार गर्दै लैजानु पर्नेमा जोड दिनुभयो । लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विक्रम कर्मचार्यले व्यवसायी सधै उपभोक्तालाई कसरी गुणस्तरीय सेवा दिने भन्ने चिन्तामा मात्र लागिरहने दावी गर्नुभयो ।
सो अवसरमा उपभोक्ता मञ्च गण्डकीमा अध्यक्ष कपिलनाथ कोइराला र गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका महराज ढकालले उपभोक्ता अधिकार र कानूनी प्रावधानका बारेमा आधारपत्र प्रस्तुत गरेका थिए ।
सो अवसरमा उपभोक्ताको तर्फबाट तारानाथ पहारी, मिना रानाभाट, अस्मीता त्रिपाठी, कमल पौडेल, रमेश पौडेल लगायतले उपभोक्ता अधिकारका बारेमा आम नागरिकको चासो कम हुने गरेको बताए । उक्त कार्यक्रममा स्वागत मन्तव्य उपभोक्त मञ्च गण्डकीका उपाध्यक्ष रमेत पौडेल र धन्यवाद उपभोक्ता मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगलले गरेका थिए ।
