समृद्ध नेपाल निर्माणमा युवा जनशक्ति आवश्यक – उम्मेदबार बास्तोला

प्रदेश समाचार मुख्य समाचार राजनीति

धाराखबर समाचारदाता

पोखरा, १५ फागुन । नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले नेपाली काँग्रेसलाई युवाको पार्टी बनाउने उद्देश्यका साथ विशेष महाधिवेशनबाट युवा नेता गगन थापालाई सभापति चयन गरिएको बताएका छन् ।

नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का युवा विद्यार्थी तथा तरुण भेलालाई आज पोखरामा सम्बोधन गर्दै सभापति शर्माले युवाका भावनालाई समेट्दै काँग्रेस अगाडि वढ्ने भनाइ उनको थियो । प्रजातन्त्र प्रति विश्वास राख्ने पार्टी नेपाली काँग्रेसलाई माथि उठाउन युवाको महत्वपूर्ण हात हुँदा काँग्रेसप्रति आस्था राख्ने हरेकको सक्रियता देखिनु पर्नेमा उनले जोड दिए ।

आगामि फागुन २१ गतेको निर्वाचनमा विद्यार्थी र तरुण युवाले हरेक मतदान स्थलमा आफ्‌नो सक्रिय उपस्थिति देखाउँदै निर्वाचनलाई शान्तिपूर्ण र भएरहित वातावरणमा सम्पन्न गर्न सहयोग पुर्‍याउनुपर्ने भनाइ राख्दै नेपाली जनताले आफ्‌नो मत सुरक्षित रुपमा आफुले चाहेको उम्मेदवारलाई दिनसक्ने वातावरण बनाउनु पर्ने कुरामा उनको जोड थियो ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागी नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र नं २ का उम्मेदवार माधव प्रसाद बास्तोला (मधु) ले समृद्ध नेपाल बनाउनका लागि युवाहरु अगाडि वढ्नु पर्नेमा जोड दिए । युवालाई नेपालमा नै उद्यमशीलता वातावरण बनाएर देशमा समृद्धि ल्याउने उद्देश्यले काँग्रेस अगाडि वढेको भनाई उको थियो ।

उनले नेपाली जनता र युवाहरुको मुख्य माग सुशासन, स्वतन्त्रता र सामाजिक सञ्जालको पक्षमा आफूले सधै संसदमा आबाज उठाउने बताउँदै उनले फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा युवाको भूमिका महत्वपूर्ण हुने भएकाले वान बुथ हन्डेड युथ को अभियानका लागि काँग्रेस अगाडि वढ्नु पर्नेमा जोड दिए । साथै उनले नेपाली काँग्रेसबाट माधब बास्तोला मात्र उम्मेदवार हैन, काँग्रेसको प्रत्येक कार्यकर्ता उम्मेदवार सम्झेर खटिन समेत उनले आग्रह गरे । विशेष महाधिवेशनबाट काँग्रेस बदलिएको र अब देश बदल्ने योजनामा काँग्रेस अगाडि बढेको कुरा उनले सुनाए ।

कास्कीका समानुपातिक तर्फका उम्मेदवार आईबहादुर गुरुङले वि.स. २०८४ मा हुनुपर्ने निर्वाचन दुई वर्ष अघि गर्नुपर्ने विशेष परिस्थिति सृजना भएकाले निर्वाचनमा सोचविचार गरेर मतदान गर्नुपर्नेमा जोड दिए । काँग्रेस नयाँ सोचका लिएर निर्वाचनमा प्रस्तुत भएकाले नेपाली मतदाताको साथ काँगश््रेसले पाउने दावी उनको छ ।

नेपाली काँग्रेसका नेता एंव निवर्तमान केन्द्रीय सदस्य गुरु बरालले सरकारले निश्पक्ष, स्वतन्त्र र भएरहित वातावरणमा निर्वाचन गर्नुपर्नेमा जोड दिए । निर्वाचनमा स्वतन्त्र रुपमा मतदान गर्न सक्ने बातावरण भएन भने नेपाली जनताले आफ्‌नो मत प्रयोग गर्न नपाउने बताउँदै सरकारको त्यसतर्फ ध्यान जान आवश्यक भएको बताए ।

नेपाली काँग्रेसका नेता बिन्दुकुमार थापाले देश संकटपूर्ण अवस्थामा रहेका बेला सबै नेपालीले सोचबिचार गरेर आफ्‌नो मताधिकार प्रयोग गर्नुपर्नेमा जोड दिए । भदौ २३ र २४ गते सरकारी तथा निजी क्षेत्रले ठूलो भौतिक तथा मानवीय क्षति व्यहार्नु परेको बताउँदै उनले ति संरचना पुनः निर्माणको जिम्मेवारी काँग्रेसको काँधमा आएको बताए ।

सो अवसरमा नेपाली काँग्रेसका नेता वीरेन्द्रनारायण विजुक्छे, लक्ष्मी पाण्डे, अर्जुन पोखरेल, अनमोल भट्टराइृ, नेपाल तरुणदलका केन्द्रीय सदस्य मदन बस्नेत, तरुण दलका डिआर भट्टराई, आशिष गुरुङ संजय आले लगायतले आफ्‌ना भनाइ राखेका थिए ।
त्यसैगरी उम्मेदवार बास्तोलाले शुक्रबार नै कास्की निर्वाचन क्षत्र नं २ अन्तरगत पोखरा– ९ को नयाँसडक, महेन्द्रपुल, नयाँबजार र शान्तिवनका मतदाताको सुझाव संकलन गर्न घरदैलो कार्यक्रम गरेका थिए । साथै उनले स्वतन्त्र उम्मेदवार निर्दोष विक्रम पौडेलले आफ्‌नो उम्मेदवारी फिर्ता लिएर नेपाली काँग्रेसलाई समर्थन गरेको प्रति उनलाई धन्यवाद व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *