गण्डकी र कोशी प्रदेशबीच पर्यटन प्रवद्र्धनका लागि समझदारीपत्रमा हस्ताक्षर

पर्यटन प्रदेश समाचार मुख्य समाचार

धाराखबर समाचारदाता

पोखरा, २८ पुसः गण्डकी प्रदेश र कोशी प्रदेशबीच पर्यटन विकास, प्रवद्र्धन, पूर्वाधार, पहुँच विस्तार, मानव संसाधन विकास तथा संस्थागत सहकार्यलाई सुदृढ बनाउने लक्ष्यका साथ समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सन्दर्भमा पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको आयोजना एवं नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको संयोजनमा आज पोखरामा आयोजित अन्तरप्रदेश प्रवद्र्धन कार्यक्रम एवं सद्भावना भ्रमण तथा अन्तरक्रियाका अवसरमा समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल र कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीको उपस्थितिमा उक्त मन्त्रालयका निमित्त सचिव टीकाराम पौडेल र कोशी प्रदेशका पर्यटन सचिव डा इन्द्रप्रसाद सापकोटाले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

दुवै प्रदेशको पर्यटन क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउने लक्ष्यका साथ गरिएको समझदारीपत्रमा दुवै प्रदेशका सरकारी कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकहरूलाई लक्षित गरी अन्तर–प्रदेश भ्रमण कार्यक्रम सञ्चालन गर्न सरकारी तहमा प्रोत्साहन ‘प्याकेज’ तथा निजी/व्यावसायिक तहमा सुलभ पर्यटन ‘प्याकेज’ विकासका लागि पहल गर्ने उल्लेख छ ।

यस्तै, पोखरा–विराटनगर सीधा हवाई सेवा तथा पर्यटकीय बस सेवा सञ्चालनका लागि दुवै प्रदेशबाट संयुक्त रूपमा सङ्घीय सरकारसमक्ष आवश्यक पहल गर्ने, दुवै प्रदेशमा पर्यटन क्षेत्रका सन्दर्भमा भएका असल अभ्यासको आदानप्रदान, प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारका लागि समन्वय र सहकार्य गर्ने भनिएको छ ।

यसैगरी हवाई भाडासम्बन्धी विषयमा दुवै प्रदेशको आपसी सहमतिअनुसार आवश्यक सहकार्य र पहल गर्ने, संयुक्त रूपमा पर्यटन दूत नियुक्त गर्ने सम्बन्धमा पनि आपसी समझदारी कायम गर्ने उल्लेख छ ।

दुवै प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यहरूलाई जोडेर धार्मिक पर्यटन सर्किट विकास तथा प्रवद्र्धन गर्ने उल्लेख गर्दै प्रथम चरणमा कोशी प्रदेशका पाथीभरा, बराहक्षेत्र र हलेसी तथा गण्डकी प्रदेशका मनकामना, मुक्तिनाथ र दामोदर कुण्डलगायतलाई धार्मिक पर्यटन सर्किटका रूपमा विकास गर्न दुवै प्रदेशले आवश्यक सहयोग र योगदान गर्ने उल्लेख गरिएको छ ।

अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनका लागि सम्बन्धित पर्यटन बोर्ड तथा निकायमार्फत सहकार्य, दुवै प्रदेशका घरवास (होमस्टे)बीच भगिनी सम्बन्ध स्थापना गर्न पहल गर्ने समझदारीपत्रमा भनिएको छ । समझदारी कार्यान्वयनका क्रममा उत्पन्न हुनसक्ने कुनै पनि विवाद दुवै पक्षबीच आपसी छलफल, समन्वय र सहमतिका माध्यमबाट समाधान गरिने र यसका लागि दुवै प्रदेशका पर्यटन हेर्ने मन्त्रीको संयोजकत्वमा (आलोपालो) गण्डकी कोशी पर्यटन प्रवद्र्धन समन्वय समितिसमेत गठन गरिएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले दुई प्रदेशबीच पर्यटकीय साझेदारीका धेरै सम्भावना रहेको बताउँदै एकापसमा गरिने साझेदारीले दुवै प्रदेशलाई फाइदा पुग्ने बताउनुभयो । निजी क्षेत्र र सरकारबीचको सहकार्यमा पर्यटन क्षेत्रको विकास सम्भव रहेको उहाँको भनाइ छ ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री पराजुलीले दुई प्रदेशबीचको ‘कनेक्टिभिटी’लाई सहज एवं प्रभावकारी बनाउनका लागि सामूहिक प्रयासको आवश्यकता भएको बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले दुई प्रदेशबीचको पर्यटकीय साझेदारीले प्रदेशलाई मात्र नभई सिङ्गो राष्ट्रको पर्यटन विकासमा टेवा पुग्ने धारणा राख्नुभयो ।

त्यस अवसरमा दुवै प्रदेशका पर्यटकीय सम्भावना समेटिएको श्रव्यदृश्य सामग्री प्रदर्शन र प्रस्तुतीकरण गरिएको थियो । पर्यटन विकासका लागि गरिएको समझदारी प्रभावकारी कार्यान्वयन हुनसकेमा त्यसले दुवै पक्ष लाभान्वित हुने नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *