धाराखबर समाचारदाता
पोखरा,२७ पुस । “युवाको जाँगर राष्ट्र निर्माणको आधार” भन्ने मूल नाराका साथ मंगलबारदेखि १४औं संस्करणको पोखरा महोत्सव गरिने भएको छ ।
स्थानीय कला, संस्कृति र वेशभूषाको संरक्षण, सूचना प्रविधि एवं औद्योगिक तथा हस्तकलाका सामग्री प्रदर्शनी र बिक्री गर्ने उद्देश्यका लिएर युनाईटेड क्लव पोखरा–१० ले यही पुस २९ देखि माघ ११ गतेसम्म उक्त महोत्सव गर्न लागेको हो ।
महोत्सवको मुनाफाबाट क्लवले वार्षिक रुपमा शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा खर्च गर्दै आएको र पोखरामा चिडिया खानाको अवधारणा समेत क्लवले ल्याएको आज (आइतबार) यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लोकबहादुर थापाले जानकारी दिनुभयो ।
महोत्सवको मुनाफाबाट क्लवले पोखरा र आसपासका क्षेत्रमा रहेका २० वटा सामुदायिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरी विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति दिनुको साथै ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको जानकारी अध्यक्ष थापाले दिनुभयो ।
त्यस्तै क्लवले खेलकुद प्रतियोगिता आयोजना तथा पर्यटन प्रवद्र्धन गर्दै आएको छ भने पोखराको लेखनाथस्थित पचभैयामा खुला चिडियाखानाको अवधारणा तथा निर्माणको पहल गर्नुको साथै पोखराको सेती नदीको खोँचको छेउमा तारजाली लगाउने र हालै पोखराको लेखनाथस्थित अर्चलेमा ६० लाख रुपैयाँको लागतमा आर्थिक विपन्न परिवारका वालवालिकालाई लक्षित गरी युनाईटेड छात्रावास निर्माण भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।
दुई हप्ता चल्ने उक्त महोत्सवमाबाट एक करोड ५१ लाख ७५ हजार आम्दानी र खर्च एक करोड २३ लाख ६० हजार खर्च र मुनाफा २८ लाख १५ हजार हुने अनुमान गरिएको छ । दुई सय ५० स्टल रहने उक्त महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजक संस्थाले गरेको छ ।
महोत्सवको मुख्य आकर्षणमा राष्ट्रिय लोक गीतका कलाकारहरु प्रकाश सपुत, वद्री गंगेनी, शान्तिश्री परियार, रबि कार्की, समीक्षा अधिकारी अर्जुन सापकोटा, प्रिती आले, प्रकाश दुतराज, अस्मिता अधिकारी, शान्तारानी परियार, सम्झना लामिछाने रहने जानकारी महोत्सवका प्रचारप्रसार संयोजक दिनेश सुनारले दिनुभयो ।
