धाराखबर समाचारदाता
पोखरा, २५ पुस । कास्की माछापुच्छे्र गाउँपालिका–५ रिभानका युवा विद्यार्थी प्रचण्ड शक्ति गुरुङले राजनीतिमा युवा सहभागिता र सुशासन स्थापना हुन नसक्दा जेन्जी विद्रोह उत्पन्न भएको वताउनुभएको छ ।
जेन्जी विद्रोह पछि स्थानीय तहका हुने सार्वजनिक सुनुवाई लगायतका कार्यक्रममा युवालाई सहभागी नगराउने रोग अझै पनि कायमै रहेको गुनासो उहाँको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना र माछापुच्छे्र गाउँपालिकाको सहआयोजनामा विहीबार गाउँ पालिकाकाको कार्यालयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा गुरुङले त्यस्तो गुनासो गर्नुभएको हो ।
राजनीतिक तथा समाजका अन्य विकासका काममा युवा सहभागिता गर्नसकियो भने युवालाई लागुऔषध दुर्व्यसनीको कुलतबाट कम गर्न सकिनुको साथै विदेशजानबाट रोक्न सकिने भनाइ उहाँको छ । स्थानीय तथा संघीय सरकारले युवालाई उद्यमशीलतामा सम्लग्न गराउन कृषि, पर्यटक तथा उद्योगहरुमा आकर्षण गर्न अनुदानमा ऋण सहयोग गर्न समेत उहाँले सो अवसरमा आग्रह गर्नुभएको थियो ।
देशमा राजनीतिक परिवर्तन आए तर भ्रष्टाचार रोकिएको छैन, जनताले सुशासन पनि पाउन सकेका छैनन्, नेतृत्वमा वस्ने व्यक्ति नै भ्रष्टाचारमा लिप्त हुँदा नेपाली जनताले दुःख पाइरहेको भनाइ उहाँको छ ।
माछापुच्छे्रकै केदारनाथ पौडेलले राजनीतिक दलहरुले जनताको हित नगरेपनि सरकारी कर्मचारीहरुले सेवाग्राहीलाई छिटो छरितो र सहज रुपमा सेवा दिएपनि नागरिकले राहतको महसुश गर्न सक्ने थिए, उहाँले भन्न्ुभयो–सरकारी कार्यालयका कर्मचारीले पनि पहुँचका आधारमा सेवाग्राहीको काम गर्ने गरेको आरोप लगाउृनुभयो ।
स्थानीय सुरज अधिकारीले पोखरा महानगरपालिकाका नागरिकले खाने पानीको मुख्य मुहान माछापुच्छे्रको मर्दी खोला भएकाले यहाँ लासहरु जलाउने गर्दापनि खानेपानी संस्थानले र स्थानीय सरकारले यहाँको सरसफाइ र संरक्षणमा ध्यान नदिएको गुनासो गर्नुभयो ।
मछापुच्छ्रे गाउँपालिका लाहाचोकका गोविन्द्रप्रसाद अधिकारीले सेवाग्राहीले प्राप्त गर्ने नागरिकता, राहदानी, शान्ति सुरक्षामा जिल्ला प्रशासनले सहज रुपमा काम गरिदिनु पर्ने माग राख्दै पछिल्लो समयमा शान्ति सुरक्षा कमजोर हुँदै गएको बताउनुभययो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा माछापुच्छे्र गासउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले सर्वसाधारण जनतालाई सहज रुपमा सेवा दिने उद्देश्यले कार्यालयले आफ्नो सेवालाई प्रभावकारी रुपमा अगाडि वढाइरहेको बताउनुभयो ।
माछापुच्छे्र गाउँपालिका पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिएको र यहाँका प्राकृतिक सम्पदालाई मास्नेकाम कही कतैबाट हुन नहुने भनाइ उहाँको थियो । पछिल्लो समयमा सेती नदी तथा मर्दी खोला किनारमा क्रसर उद्योग संचालनमा आँउदा भूक्षयको खतरा वढ्ेको भनाइ उहाँको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीयले उठाएका प्रश्नको जवाफ दिँदै जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई नागरिकता एवं राहदानी वितरणमा सहज गर्नुका साथै उनीहरुको शान्ति सुरक्षामा ध्यान दिँदै आएको बताउनुभयो ।
जेन्जी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय कास्की जलेको र त्यही जलेको भवनबाट सेवाग्राहीलाई भुँइतलाबाट नै सर्वसुलभ सेवा प्रदान गर्नुको साथै सुशासनमा त्यतिकै ध्यान दिएको उहाँले बताउनुभयो । सेवाग्राहीलाई विभिन्न वहानामा दुःख दिने कर्मचारीलाई तुरुन्त कारवाही गर्ने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो। एक दुई जना कर्मचारी खराब हुँदैमा सबै कर्मचारीलाई दोष दिनु हुँदैन, उहाँले भन्नुभयो ।
उक्त अवसरमा स्थानीयले उठाएका प्रश्नको जवाफ कास्कीको जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी वल कार्यालय, मालपोत कार्यालय, खानेपानी संस्थान कार्यालय, नापी कार्यालय, विद्युत कार्यालय, भौतिक पूर्वाधार, कर कार्यालय लगायतका प्रमुखले जवाफ दिनुभएको थियो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जिल्ला प्रशासन कार्यालय कास्कीले दिँदै आएको सेवाका बारेमा प्रष्ट पर्नुभएको थियो । उक्त कार्यक्रमको अध्यक्षता कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गर्नुभएको थियो ।
