धाराखबर समाचारदता
पोखरा, १४ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ लेखनाथमा सञ्चालित २१ औं संस्करणको लेखनाथ महोत्सव रु ११ करोड बरावरको कारोबार गर्दै सोमबार सम्पन्न भएको छ ।
वाह्र दिनसम्म सञ्चालित महोत्सवको अन्तिम दिन सोमबारसम्म आइपुग्दा रु.११ करोड २० लाखको कारोबार र ३ लाख ३५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको मेलाका प्रचार प्रसार संयोजक ध्रुववावु भटृराईले जानकारी दिनुभयो ।
सोमबार मेलाको समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताउदै मेलाले क्रेता र विक्रेतालाई एकै ठाउँमा जम्मा गरि बस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान पुर्याउने धारणा राख्नु भएको थियो ।
प्रमुख आचार्यले जेन्जी आन्दोलनका कारण व्यवसायीहरुमा पुगेको क्षति र मनोबल गिरेको अवस्थालाई ध्यानमा राख्दै आर्थिक अवस्थालाई कसरी सुधार गर्न सकिन्छ भन्ने वारेमा हामी चिन्तनशील हुनुपर्नेमा जोड दिनुभयो । साविक लेखनाथ क्षेत्रको विकासका लागि बेगनासतालमा वाटर र्स्पोर्टस सञ्चालन गर्ने योजना रहेको भएपनि ३ वर्षदेखि उक्त योजना अगाडि वढ्न नसकेको उहाँले बताउनुभयो ।
उहाँले उक्त योजना सञ्चालन गर्न ढिला भईसकेको वताउँदै यसलाई अगाडी वढाउनका लागी स्थानियहरुको साथ सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।
प्रमुख आचार्यले पोखरा–मुग्लिन सडक निर्माणको अन्तिम चरणमा रहेको वताउँदै यस पश्चात पोखरा–लेखनाथको दुरी घट्ने बताउनुभयो । लेखनाथको विकासमा महानगरको तर्फबाट कुनै विभेद नगरिएको वताउँदै उहाँले बरु विकासका ठूला योजनाहरुलाई लेखनाथमा केन्द्रित गरिएको ले अबका दिनमा लेखनाथवासीले आफूहरु मर्कामा परेको अनुभूति गर्न नपर्ने वताउनुभयो ।
कार्यक्रमा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले रुपा र पोखराको एकीकृत विकसका लागि योजना बनाउनु पर्ने सुझाव दिनुभयो । पोखरा महानगरपालिका वडा नं २६ वडाअध्यक्ष नरेन्द्र थापाले साविक लेखनाथ क्षेत्रको विकासका लागि यहाँ रहेका सामाजिक संघ सस्था र उद्योग ब्यवसायी वसेर एकीकृत विकासका योजना वनाउन आग्रह गरेका थिए ।
कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक जानुका अधिकारी पराजुलीले २१ औँ संस्करणसम्म आउँदा महोत्सवको पनि महोत्सव भन्ने पहिचान स्थापित गर्न सफल भएको दावी गर्नुभयो । कार्यक्रममा विभिन्न विधामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना प्राप्त गर्ने व्यवसायी, दर्शक एवं कलाकारलाई कार्यक्रममा सम्मान गरीएको थियो ।
महोत्सव सञ्चालनबाट हुने बचत रकमबाट प्रस्तावित औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग र विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने भएको छ ।
