अन्ततः कुलमान राष्ट्रिय स्वतन्त्र पार्टीमा

मुख्य समाचार राजनीति

धराखबर समाचारदाता

पोखरा, १४ पुस । वरियताको क्रममा पहिलो उपसभापति बन्ने गरी उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। यो सहमतिसँगै रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ अन्ततः एक ठाउँ उभिएका छन्।

सोमबार हस्ताक्षर भएको सहमतिको चौथो बुँदा अनुसार रास्वपामा अब कुलमानसहित तीन उपसभापति रहने छन्। सहमति अनुसार पार्टीको उपसभापतिमा कुलमानको नाम सबभन्दा अगाडि छ। उनीपछि डिपी अर्याल र तेस्रोमा स्वर्णिम वाग्लेको नाम छ।

यसअघि दुई जना मात्र उपसभापति हुँदा वरियतामा डिपी सबभन्दा अगाडि र त्यसपछि स्वर्णिम वाग्ले थिए। ’राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले रहने,’ सहमतिको बुँदा नम्बर ४ मा उल्लेख छ।

सोमबार राति भएको सहमतिमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने र कुलमानका तर्फबाट उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन्। काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साक्षी बसेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *