धराखबर समाचारदात
पोखरा, १३ पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले प्रमुख दलका शीर्ष नेताहरुले चुनावमा जान सहमति जनाएको बताउनु भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आईतबार पोखरामा आयोजना गरेको ‘आमसञ्चारलाई व्यवसायिक बनाउन यस क्षेत्रमा विकसित नवीनतम अवधारणा’ सम्बन्धी अर्न्तक्रिया तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका प्रवक्तासमेत रहेका उनले प्रधानमन्त्रीले शनिबार गरेको छलफलमा शीर्ष नेताहरुले निःशर्त चुनावमा जान सहमति जनाएको बताएका हुन् ।
जेनजी आन्दोलनको जगमा बनेको सुशीला सरकारले फागुन २१ गतेका लागि चुनाव घोषणा गरेको छ । प्रतिनिधि सभा निर्वाचनका लागि तय भएको सो मितिमा चुनाव गराउन सरकार नै तयार नभएको दलहरुले आरोप लगाउँदै आएका छन् ।
शनिबार प्रधानमन्त्रीसँगको भेटले चुनावको ढोका खोलेको सञ्चारमन्त्री खरेलले दाबी गरे ।
चुनावमा सहभागी हुनका लागि दलहरुलाई आग्रह गर्न हामी राजनीतिक दलको कार्यालयमै गयौं, मुख्य राजनीतिक दलका शीर्ष नेताहरुको निवासमा पुग्यौं,उनले भने,‘हिजो मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुख्य दलका शीर्ष नेताहरूबिच भएको सघन वार्ताले एउटा सहमति गरेको छ त्यो सहमति भनेको निर्वाचनमा जाने हो ।’ त्यसैले आजको नयाँ बिहानीबाट मुलुक निर्वाचनतिर अगाडि बढेको छ ।’ मन्त्री खरेलले दलहरु समानुपातिक बन्द सूची तयार गर्नसमेत लागिसकेकाले दलहरु चुनावमा होमिईसकेको दाबी गरे । ‘प्रमुख दलका शीर्ष नेताहरुले चुनावमा जाने सहमति जनाईसक्नु भएको छ, नया दलहरु ध्रुविकरणतर्फ गएका छन् । त्यसैले अब कोही पनि पछि हट्ने अवस्था छैन’–उनले भने ।
मन्त्री खरेलले फागुन २१ गतेपछि मुलुकको राजनीतिमा नयाँ आयाम र मानक स्थापित हुने दाबी गरे । जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले निर्वाचनसँगै देशलाई सुशासन र भ्रष्टारमुक्त बनाउने अभियानसमेत स्थापित गर्ने भएकाले त्यसपछि चुनावबाट निर्वाचित भएर आउने सरकारले देशलाई विकास र समृद्दिको मार्गमा लैजाने उनले विश्वास व्यक्त गरे ।
मन्त्री खरेलले अब डिजिटल मिडियालाई पनि राज्यले चिन्ने वातावरण बनाउने बताए । सञ्चार क्षेत्रको रुपान्तरण अपरिहार्य भएको बताउँदै उनले भने,‘पछि थाहा छैन अहिले म भएकै बेला यो दुई/तीन महिनामा युट्यूब, अनलाइन न्युज पोर्टल र डिजिटल मिडियाहरूलाई राज्यले रिकोजनाईज्ड गर्ने बनाईन्छ, बनाउँछौं ।’ त्यसका लागि नियमावली संशोधन गरेर दर्ता र सूचीकरणको प्रक्रियामा ल्याउने उनको भनाई थियो । उनले अहिले युट्यूब, अनलाइन न्युज पोर्टल र डिजिटल मिडिया नै मूलधारको मिडिया भएकोसमेत बताए ।
