दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने मन्त्री गुप्ताको प्रतिवद्धता

खेलकुद

धाराखबर समाचारदाता

पोखरा, ५ पुष । राजनीतिक दाउपेच र तत्कालीन सरकारको असक्षमताले पटक पटक सर्दै आएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई यस वर्ष आयोजना गर्ने नयाँ खेलकुद मन्त्रीले आफ्नो मुख्य कार्यभार बनाएका छन्।


मन्त्री बब्लु गुप्ताले सुरुवातमै कठिन काम रोजेका छन्, दशौं राष्ट्रिय खेलकुदको आयोजना गर्ने भएका हुन् । राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक बोलाएर मन्त्री गुप्ताले दशौं राष्ट्रिय खेलकुदको मिति घोषणा गरेका छन्, फागुन १ गतेदेखि ७ गतेसम्म। तर, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै आयोजना हुने विषयमा स्वयम राखेपकै पदाधिकारी नै निश्चित छैनन्। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति यसभन्दा अघि समेत तीन पटक घोषणा भएर स्थगित गरिएको तितो यथार्थ खेलकुदसँग छ।


खेल्नका लागिनै खेलाडीले संघर्ष गर्नुपर्ने विडम्बनाको एउटा नमिठो उदाहरण बनेको दशौं राष्ट्रिय खेलकुदको आयोजना गर्न चुनौतीका चाङ छन्। तिनै चुनौतीका ५ कारणलाई यहाँ प्रस्तुत गरिएको छ।


दशौं राष्ट्रिय खेलकुदको आयोजक प्रदेश हो, कर्णाली। तर प्रतियोगिता आयोजनामा प्रदेश सरकार साह्रै उदासीन देखिन्छ। मन्त्रालय सम्हालेको हप्ता नै नयाँ खेलकुद मन्त्री गुप्ताले कर्णाली प्रदेशका मुख्यमन्त्रीसँग काठमाडौं आएको समय भेट्न चाहेका थिए।


तर, मुख्यमन्त्री यमलाल कँडेलले समय दिएनन्। दशौंको लागि भन्दै कर्णाली प्रदेशले साढे ३ अर्ब खर्च गरेर खेलकुद पूर्वाधार निर्माण गरेको छ। तर, संघीय सरकारले कर्णाली प्रदेशको खेलकुद पूर्वाधारमा लगानी नगरेको भन्दै प्रदेश सरकार रुष्ट छ। सोही कारण उसले संघीय सरकारको कार्यक्रमलाई प्रदेशमा आयोजना गर्न दिन सजिलो मानेको छैन। अझ विद्रोहबाट आएका जेन जी मन्त्रीलाई प्रदेशमा स्वागत गर्न एमालेका प्रदेश सरकारका प्रमुख तयार देखिँदैनन्।


खेलकुदको सर्वोच्च निकाय राखेपको बोर्ड कांग्रेस–एमाले सरकारले नियुक्त गरेका नेता कार्यकर्ताले भरिएको छ। जसका नेता विरुद्ध विद्रोह गरेर सत्ता सम्हाल्न पुगेको छ, उहीसँग बसेर खेलकुद चलाउनुपर्ने र दशौं गर्नुपर्ने चुनौती नयाँ खेलकुद मन्त्रीसँग छ।

राखेपको बोर्ड बैठकमा समेत त्यसको छनक देखियो। खेलकुदमा एमाले–कांग्रेसका बोर्ड सदस्यहरूको घेराबन्दीमा जेन जी मन्त्री परिसकेका छन्। फागुनमा घोषणा गरिएको दशौं राष्ट्रिय खेलकुदलाई असफल बनाउने कसरत राखेपभित्रबाटै सुरु भइसकेको छ। सोही अनुसारको संवाद, छलफल, परामर्श राखेप र छेउछाउमा सुनिन्छ।


कर्णालीमा दशौं राष्ट्रिय खेलकुद आयोजना गर्ने त भनिएको छ तर कर्णालीको भूगोलमा राष्ट्रिय खेलकुद जस्तो ठुलो खेल महोत्सव सञ्चालन गर्न समस्याका चाङ छन्। सिंगो प्रदेश अहिले छिन छिनमा कटौती हुने विद्युत् सेवासँग जुधिरहेको छ।
भौगोलिक र पूर्वाधार सेवा सुविधाले निकै पछि रहेको कर्णालीमा खेलकुद पूर्वाधार बाहेक पनि प्रतियोगिता आयोजनाको व्यवस्थापनमा स्रोत साधन जुटाउन कठिन छ। एकै पटक कर्णालीमा दसौं हजार सहभागीलाई व्यवस्थापन गर्न नै समस्या पर्ने गाह्रो एकातिर छ।

विद्युत् आपूर्ति नभएर खेलाडीलाई पानी खानै पनि समस्या पर्ने प्रतिवेदन उपाध्यक्षले मन्त्रालयमै पेस गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *